–किरण बि.सी
कोरियामा यदि संस्थागत निर्वाचन भयो भने एनआरएन बाहेक अरु मा नयाँ शक्ति पहिलो हुनसक्ने स्वैरकल्पनाको ठूलो खेती भएको छ । यो कुनै अनौठो विषय होईन , सम्भावित परिणामलाई प्रभावित तुल्याउने पुरानो गोयबल्स शैली हो । मान्छे राजनीतिक प्राणी हो तर राजनीतिक जनावर होईन । त्यसैले एनआरएन बाहेक अरु मा नयाँ शक्ति पहिलो हुनसक्छ भनेर गरिन खोजिएको भ्रामक चर्चालाई सामान्य राजनीतिक समझ भएको कुनैपनि व्यक्तिले सहजै पत्याउन सक्ने देखिएको छैन ।
मलाई त यो कोरियामा नयाँ शक्ति भन्दै एक पछि अर्को हाम फाल्ने दौडलाई भेडाको ‘ननकन्सेप्चुअल ओभर जम्पिङ’ जस्तो लाग्छ । हरेक सजीव प्राणीको दिमागी बनावट फरक फरक हुन्छ । घस्रेर हिड्नेको, चराको, मान्छेको र भेडाहरु सबैको आ–आफ्नै फरक बिशेषता हुन्छ ।
तर अरु छाडेर एक पटक भेडा र मान्छेको दिमाग र प्रवृतिमा तात्विक भिन्नता खोज्न जरुरी छ । भेडा गोठालोले सयौँ भेडाको हेरचाह गरेको हुन्छ । प्रायः गोठालो (मान्छे) पछिपछि र भेडाको बथान अघि अघि लागेको हुन्छ । हिड्दै गर्दा बाटोमा एक अग्लो र कठिन भिर आउँछ । त्यो कठिन र अग्लो भिरको सामना स्वरुप पहिलो भेडाले पारी जाने दुस्साहस गर्दै हाम फाल्छ ।
एकएक गर्दै त्यसको पछि सबै भेडाले हाम फाल्छन् । अन्तमा रहेको एक मानव मस्तिष्क बाहक मान्छेले एक पटक सोच्दछ, ‘भेडा संगै हाम फालौ या फर्केर एक्लै भएपनि घर जाउँ ।’ यदि ऊ भेडासंगै हाम फालेर तारे भिरमा खस्यो भने मानव रहेन भेडै भयो । यदि ऊसले उच्च मस्तिष्कको प्रयोग गरेर फक्र्यो भने ऊ त्यस्ता हजारौ भेडा जम्मा गर्न सक्छ र फेरि गोठालो बन्न सक्छ ।
दोस्रो विश्वयुद्धमा स्टालिनका छोरा जेबकलाई दरम्यान जर्मनीले कब्जा गरेर भने, ‘हाम्रा बन्दि छोड नत्र तिम्रो छोरालाई मारिदिन्छौं ।’ स्टालिनले सिधै जबाफ दिए, ‘मलाई मेरो छोरा भन्दा रुसको राष्ट्रियता प्यारो छ ।’ युद्धबन्दी साटासाट गर्ने दरम्यान जर्मनीको प्रस्ताव स्टालिनले अस्विकार गरेकै कारण स्टालिनका छोरा जेबकको जर्मनीको जेलमा मृत्यु भयो ।
त्यसरी देशको राष्ट्रियता जोगाएका स्टालिनको कदमलाई रुसबासीले ‘राष्ट्रका लागी बलिदान’ भनेर प्रसंसा गरेका थिए । चाहेको भए उनले आफ्नो छोरालाई बचाउन सक्थे । तर रुसको विरुद्ध गलत सम्झौता गर्नु नाजायज हुन्छ भन्ने निश्कर्ष निकालेर स्टालिनले आफ्नो छोरालाई समेत बलिवेदीमा चढाउन राजी भए । राष्ट्रभक्ति भनेको यो हो ।
माओले चाहेको भए आफ्नो छोरा अनोयिङ माओलाई लाखौं जनमुक्ति सेनाको बिचमा सुरक्षित राख्न सक्थे । तर उनले आफ्नो छोरामात्र बचाउनुपर्छ भन्ने स्वार्थकेन्द्रित प्रवृत्तिलाई निरुत्साहित गरे । बरु दोस्रो बिश्वयुद्ध, चिनियाँ गृहयुद्ध र कोरियन युद्धमा सोभियत युनिफर्ममा आफ्नै छोरालाई युद्ध मैदानमा उतारे ।
लडार्इँकै क्रममा २५ नोभेम्बर १९५० मा २८ बर्षको लक्का जवान छोराले सहादत प्राप्त गरे । कोरियाली सेनाको बन्दुकबाट माओपुत्र लडाईँ मैदानमा मारिए ।
प्रचण्डले छोरालाई बन्दुक बोकाउँदा बाबुरामले छोरीलाई छद्म नामबाट दिल्लीको नामुद विद्यालयमा आफैंले भनेको बुर्जुवा शिक्षा पढाउँदै थिए ।
पोष्ट बहादुर बोगटीको छोराले युद्धमा शहदत प्राप्त गरेपछि केहि मान्छेले बाबुरामतर्फ औंला समेत सोझ्याएका थिए । तर बाबुरामले देशका लागि आफ्नी छोरीलाई होइन रुकुम रोल्पाका सिधासाधा मगरका छोरीलाई बलिदानमा होमे ।
बाबुराम राजनीतिभित्रका एक ऊच्च बैचारिक तर व्यवहारमा पाखन्डि र धुर्त व्यक्ति हुन् । उनले उडान भरेको नयाँ शक्ति को बेलुनमा सवार सबैको चेतनाले बाबुराम भित्रको पाखण्ड्याँइको खोजतलासी गर्दैन ।
आज उनै बाबुरामले अघि सारेका एजेण्डा मध्ये जनजातिको ‘क्लस्टर’को ईस्यु पनि झुक्याएर ललिपप देखाउने अस्त्र हो । यो ललिपपमा आकर्षित कोरियामा रहेका जनजातिका केहि साथीहरुको पनि उहि माथि ऊल्लेखित भेडा दौडाई जारी छ । जान या अन्जानमा दौडिएको भेडा दौडले अन्तत्वगत्वाः गतिहिनतामा पु¥याउने निश्चित छ ।
मानुषी यमीले शान्ति कालमा एक भित्तामा लेखेकी थिइन्, ‘प्रिय सहिद तिमी विश्राम गर अब तिम्रो सपना हामी पुरा गर्छौँ ।’ आज बाबुरामको नयाँ शक्तिमा लामबद्धहरुले के बुझ्न जरुरी छ भने यतिबेला बाबुरामको मुखबाट शहिदको कुरा त छाडौ लालसलाम भन्ने शब्द समेत ऊच्चारण हुन छाडिसक्यो ।
बाबुरामको कथित नयाँ शक्तिमा हाम फाल्न तयार भएकाहरुलाई हेक्का रहोस् राजनीतिबाट पटक पटक धोका पाएका अंग्रेजहरुको चर्चित कहावत छ— ‘मलाई राजनितिमा हाम फाल्ने डर होईन कतै फेरि गलत मान्छेको पछि हाम फालिन्छकि भन्ने ठुलो डर छ’ ।
‘लिड्स स्टडी’ विश्वविद्यालयको एक अध्ययन अनुसार ९५ प्रतिशत मान्छे हरु भेडा जस्तै फलोअर्स हुन्छन् । कोरियामा रहेका अधिकतम नयाँ शक्तिका मित्रहरुको प्रवृत्ति त्यही ९५ प्रतिशतमा पाइने भेडा प्रवृत्ति हो ।
डा. भट्टराईको भ्रामक गोयबल्स बौद्धिकता
आज नेपालमा बहुमत देखिन चाहने मुसाहरु नेपालको गाउँगाउँ गएर जनता र समाजमा नयाँ शक्तिको भ्रम छरेर राजनैतिक प्वाल पार्ने कोशिस गरिरहेका छन् । त्यही प्वालमा छिरेर सिंहदरवार सम्म पुग्ने र प्रतिक्रान्तिको षड्यन्त्र गर्ने उनीहरुको भित्रि इच्छा हो ।
फ्रान्समा १७९३ जनवरी २१ मा लुई सोह्रौंलाई त्यहाँका जनताले गिलोटन मेसिनमा राखी टाउको काटेर गणतन्त्र घोषणा गरे । तर पछि १८१४ मा सम्राट भनेर नेपोलियन बोनापार्ट लाई बाध्यतावस स्विकार गर्न प¥यो । नेपोलियनले १० बर्ष शासन गरे । तर १० साल पछि फेरि नेपोलियन को पतन भयो । त्यस पछि १८१४ मा लुई पुनः १८ औं राजा भए ।
उनीहरु पनि खासै टिकेनन् । दश बर्षमा नयाँ शक्तिका रुपमा अर्को १० बर्षपछि चाल्स दशौं नयाँ राजा भए । उनले पनि जनताका अगाडी आफुलाई नयाँ भनेर खुबै खोकेका थिए । तर उनको सत्ताको आयु पनि ६ बर्षभन्दा धेरै लम्बिन सकेन । र उनलाई परास्त गरि १८३० मा फिलिप नामका नयाँ राजाले आफ्नो हातमा सत्ता लिए । नयाँ तरिकाले शासन संचालन गर्ने उनको आश्वासन पनि धेरै टिकेन ।
पुनः १८४८ मा फ्रान्समा क्रान्ति भयो र गणतन्त्र समेत घोषणा भयो । त्यस गणतन्त्रबाट नेपोलियनका भतिजा तेश्रो राष्ट्रपति भए । कसैले यसलाई क्रान्ति भनेपनि कतिपयले चाहिँ प्रतिक्रान्तिको संज्ञा दिएका थिए । माथिका सबै उदाहरण अर्थ के हो भने शासकहरु नयाँ फेरिने तर सत्ता संचालन पद्धति भने पुरानै र पुँजिवादीहरुको हातमा लैजाने कर्तुतलाई नै ढाकछोप गर्न ‘नयाँ शक्ति’ भन्ने शब्दलाई दुरुपयोग गरेको देखिन्छ ।
बाबुरामको सम्पूर्ण ज्ञानको प्रमुख स्रोत माक्र्सवादी आत्मा हो तर उनले माक्र्सवादलाई नमान्ने हरुको बिचमा भ्रम फैलावट गरिदिएका छन् । आफ्नो बचाउ गर्न उनले सम्पूर्ण माक्र्सवादी जडसुत्रिय भए भन्ने कुतर्क गरेका छन् । बाबुरामले यसोे भन्नुको कारण पुजिवादीहरुलाई आफुतर्फ आकर्षित गर्ने चोर बाटोलाई बैधानिकता प्रदान गर्नु हो । एक झुट ढाक्नको लागि सय झुट बोल्न पर्नु उनको बाध्यता हो । उनले समाजबादको मुटु चोरेर पुँजिवादमा हाल्ने र महामानव बन्ने कोसिस गरेका छन् । तर उनको यो छद्म बाटो असम्भव र ऊदाङ्गो छ ।