पर्सा, १० असोज । नेपालको एकमात्र रेल सेवा सुविधा सम्पन्न वीरगन्जको सुख्खा बन्दरगाह भन्सार कार्यालयले चालु आवको दुई महिनामा रु तीन अर्ब ५९ करोडभन्दा बढी रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
आव २०७३÷७४को साउन र भदौ महिनाका लागि भान्सार विभागले सो कार्यालयबाट रु तीन अर्ब ४१ करोड २९ लाख ३३ हजार राजस्व सङ्कलन हुने अनुमान गरेकामा रु तीन अर्ब ५९ करोड ४७ लाख पाँच हजार राजस्व सङ्कलन गर्न सफल भएको हो ।
सङ्कलित राजस्व लक्ष्यको तुलनामा १०५।३२ प्रतिशत बढी अर्थात् लक्ष्यभन्दा रु १८ करोड १७ लाख ७२ हजार बढी रहेकोे सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।
विभागले साउन महिनाका लागि रु एक अर्ब ५१ करोड तीन लाख ४१ हजार राजस्व सङ्कलन हुने अनुमान गरेकामा कार्यालयले लक्ष्यभन्दा रु १० करोड ३५ लाख ६० हजार अर्थात् रु एक अर्ब ६१ करोड ३९ लाख एक हजार सङ्कलन गर्न सफल भएको कार्यालयका प्रमुख देवीप्रसाद भण्डारीले जानकारी दिए ।
यस्तै भदौ महिनामा रु एक अर्ब ९० करोड २५ लाख ९२ हजार राजस्व सङ्कलनको हुने अनुमानमा रु एक अर्ब ९८ करोड आठ लाख चार हजार अर्थात् लक्ष्यको तुलनामा रु सात करोड ८२ लाख दुई हजार बढी राजस्व सङ्कलन गरेको छ।
भारतको कोलकता बन्दरगाहबाट रेलमार्फत नेपालका लागि औद्योगिक कच्चा पदार्थ तथा खाद्यान्न आयातमा वृद्धि भएकाले सुख्खा बन्दरगाह भन्सारको राजस्व सङ्कलन सन्तोषजनक भएको भन्सार प्रमुख भण्डारीको भनाइ छ ।
भारत तथा तेस्रो मुलुकबाट नेपालका लागि आयात गरिएका वस्तु रेलमार्फत सहज रुपमा आयात हुन थालेपछि सुख्खा बन्दरगाहमार्फत माल वस्तु आयात गर्ने आयातकर्ताको समेत सङ्ख्या बढेको र रेलमार्फत वस्तु ढुवानी गर्दा भाडा कम लाग्नुका साथै सुरक्षित तरिकाले समयमै आयात गर्न सकिने भएकाले आयातकर्ताको रोजाइमा वीरगन्जको सुख्खा बन्दरगाह परेको उनले जानकारी दिएका छन् ।