मस्को रसिया, १ असोज । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्कोमा सञ्चारमाध्यमसँगको कुराकानीमा अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन नेता डोनाल्ड ट्रम्पको नाम नलिए पनि रसियाको ट्रम्पलाई मजबुत समर्थन रहने सङ्केत जनाएका छन् ।
“हामीले संयुक्त राज्य अमेरिकामा भएका घटनाहरुलाई नजिकबाट हेरिरहेका छौँ र निश्चय नै हामीले जसले समानताका आधारमा रसियासँगको सम्बन्ध विस्तारमा चासो व्यक्त गर्छ उसप्रति सहानुभूति राख्छौँ” – रसियाली राष्ट्रपति पुटिनले भने ।
उनका यी भनाइ अमेरिकी राष्ट्रपतिका उम्मेदवार ट्रम्पप्रति स्पष्ट सङ्केत गरिएका स्वर भएका रसियाली सञ्चारमाध्यमले बताएका छन् ।
केही समय पहिले ट्रम्पले रसियाली शक्तिशाली नेता पुटिन अमेरिकी राष्ट्रपति बाराक ओबामा भन्दा राम्रो राष्ट्र नेता भएको भनी आफ्नो चुनावी अभियानमा बोलेका थिए।
यद्यपि रसियाली राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपतिका कुनै पनि उम्मेदवारप्रति सार्वजनिक रुपमा समर्थन जनाउन अस्वीकार गर्दै आएका छन् ।
ट्रम्पद्वारा रसियाली राष्ट्रपति पुटिनलाई अमेरिकी राष्ट्रपति ओबामाभन्दा शक्तिशाली राष्ट्र नेता भनी दिएको अभिव्यक्तिलाई लिएर खासगरी हिलारी क्लिन्टनलगायत लाखौँ अमेरिकीले उनको आलोचना गरेका थिए ।
पुटिन र ट्रम्पको भेट भएको कुनै प्रसङ्ग त सार्वजनिक भएको छैन तर क्लिन्टन विदेशमन्त्री भएका बेला पुटिनले तनावग्रस्त क्षणहरुको सामना गर्नुपरेको रसियाली राष्ट्रपतिको दाबी छ ।
सन् २०१२ को निर्वाचन अभियानमा रहेका बेलासमेत क्लिन्टनले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न खोजेको आरोप पुटिनको छ ।
पुटिनको तेस्रो कार्यकालमा अमेरिका विरुद्ध रसियाली सञ्चारमाध्यममा अभिव्यक्तिहरु दिएको र रसियामा अमेरिकी प्रभावलाई न्यून गर्नेतिर बढी लागेको बताइन्छ ।
उनले अमेरिकीद्वारा रसियाली बालबालिकालाई धर्मपुत्र बनाएर लाने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै कैयौँ अमेरिकी गैरसरकारी सङ्घसंस्थालाई रसियामा प्रतिबन्ध लगाउने जस्ता कार्यलाई अभियानका रुपमा अगाडि ल्याएका थिए । एएफपी