(राजन खतिवडा मण्डला नाटकघरका क्रियटिभ डाइरेक्टर हुन् । मण्डला नाटकघरका संस्थापक मध्ये एक रहेका उनीसंग व्यक्तिगत जिवन, नाटक क्षेत्रको अवस्था लगायतका विषयमा नमस्ते पोस्टका लागि सरोज गुरागाईँले गरेको कुराकानीमा आधारित)
बाल्यकालमा मेरा कुनै खास सपना थिएनन् । कलाकारै बनौंला भनेर मैले कहिले सोचिन । गाउँघरतिर मेलापात र चाडपर्वमा म जमेर मादल बजाउथें । मेरा लागि मादल बजाउने मान्छे आदर्श व्यक्ति हुन्थे । पटकपटक बाको हातबाट मादल बजाएबापत चुटाइ खाएका सम्झनाहरु छन् ।
हामी पुख्र्यौली घर पहाड धादिङ कल्लेरीबाट बाराको डुमरवानामा बसाई स¥यौं । त्यो बसाइ सराइ फरक संस्कृतिसंगको साक्षात्कार पनि थियो । बारामा पनि नाचगानमा म खुबै जम्थें । एसएलसी दिएपछि म काठमाडौं आएँ । काठमाडौं आएर दुरसञ्चारमा सरकारी जागीर खान थालें । सरकारी जागीरको जिन्दगी मलाई ‘मोनोटोनस’ लागिरहेको थियो ।
संयोगवश एकदिन त्यो बाउन्न सालतिर हुनुपर्छ, एकजना छिमेकी दिदीले मलाई नाटक हेर्न लानुभयो । नाटक हेरेपछि त्यो जिन्दगीले मलाई लठ्ठ बनायो । यो पो हो त मेरो जिवनको लक्ष्यजस्तै लाग्यो । कलाकारहरु मन पर्न थाले । त्यतिबेलाका नाटकहरु अहिले आएर मुल्यांकन गर्दा कलाको शौन्दर्य मुल्यलाई ग्रहण गर्न भने सकेका थिएनन् । नाटकमा मलाई पनि एउटा भुमिका दिइयो । जाँड खाने, होहल्ला गर्ने आवारा युवकको । त्यो नै मेरो नाटकमा पहिलो संलग्नता थियो । त्यहि सन्दर्भमा नाचघरभित्रको एउटा गल्लीमा मेरोे बिरेन्द्र हमालसंग भेट भयो ।
नाटकले मोहनी लाएपछि म एक डेढ महिना जागिरमा जाँदै गइन । सरकारी जागिर त्यसमाथि एक डेढ महिना बिनाकुनै सुचना अफिस नगएपछि मलाई जागीरबाट निकालियो । मभित्र पनि सरकारी जागीर खाइरहने कुनै इच्छा बाँकी रहेन । मेरो गन्तव्य सामान्य सरकारी जागीर खाएर अनुत्पादक समय गुजार्ने थिएन । के थियो मेरो भित्री इच्छा भनेर नबुझ्दा नबुझ्दै म नाटकभित्र हराइसकेको थिएँ । पाँच छ महिना मैले विरेन्द्र हमाल दाइको थियटरमा डान्स सिकें ।
जागीर छाडेपछि जिवनमा आर्थिक असुरक्षाको सामना गर्नुप¥यो । तैपनि आफ्नो सपनाको उडानमा उड्दा उड्दै एकदिन पैसा कमाइएला नि भन्ने आत्मबल भने म भित्र जब्बर रुपमा गढेको थियो । दुई तीन बर्ष काम गरियो उत्साहमा नै । त्यसपछि गोजीमा पकेट मनी पनि छैन, जिवनको कुनै ठेगानपनि छैन । त्यसपछि तनाव हुन थाल्यो । यसैगरी समय बित्दै थियो
एकदिन बिरेन्द्र हमाल दाइले सुनील पोखरेल दाइसंग भेटाइदिनु भयो । सुनिल सरलाई भेटेपछि बल्ल मनभित्र एकप्रकारको शान्ति अनुभुति हुन थाल्यो । बल्ल मैले सहि मान्छे भेट्टाएँ भन्ने लाग्यो ।सुनील सरलाई भेटेको दुई तीन बर्षपछि गुरुकुल शुरु भयो । गुरुकुलमा लागिसकेपछि चाहिँ बल्ल मलाई भित्रैदेखि किताबको महत्व, कलाको महत्व अनि कामको महत्व बारे ज्ञान भयो । गुरुकुलमा त्यहीँ बसिन्थ्यो, पढिन्थ्यो । जिवन बुझ्न गुरुकुलका ती बसाइहरु मेरा लागि स्वर्णीम दिन बने । गुरुकुल र सुनील सरसंगको भेट नै मेरो जिवनको ‘टर्निङ पोइन्ट’ बन्यो ।
गुरुकुलमा काम गर्दागर्दै एकदिन संयोगवश दयाजी(दयाहाङ राई) संग भेट भयो । उहाँपनि एकजना आत्मीय साथीसंग छुट्टिएर बस्नुभएको थियो । पछि हामी संगै मिलेर मण्डला थियटर शुरु ग¥यौँ । नाट्य क्षेत्रको जिवन आर्थिक रुपमा अत्यन्त कष्टकर थियो । नाटक नै खेलेर मैले आजसम्म पनि पारिश्रमिक पाएको छैन । त्यस समय कामका लागि साथी पाउन समेत गाह्रो थियो ।
आर्थिक रुपमा हामी कति जर्जर छौं भनेर म तपाईँलाई भर्खरको एउटा अनुभव सुनाउँछु । केहि महिना अघिमात्र मोबाइल थियटर लन्च भएको थियो । त्यसको भोलिपल्ट थुप्रै पत्रिकाहरुले हाम्रो समाचार बनाएका थिए । मैले पन्ध्र रुपैँयाको एउटा पत्रिकापनि किन्न सकिन । गोजीमा पैसा थिएन । घरमा गएर सिक्का खोजखाज गर्दापनि पन्ध्र रुपैंया पुगेन । पसलमा उधारो खाइन्छ भएका बेला तिरिन्छ । तर पत्रिकालाई त्यो पनि भएन । मैले आफ्ना बारेमा लेखिएको समाचारसमेत पत्रिका किनेर पढ्न सकिन पन्ध्र रुपैंयाको अभावमा । आजपनि मसंग गाडी भाडा थिएन । श्रीमतीसंग माग्नपनि लाज लाग्यो । घरदेखि मण्डलासम्म हिँड्दै आएको हो ।
अस्ति भर्खर एउटा पत्रिकाले बैंक ब्यालेन्स कति छ भनेर प्रश्न सोधेको थियो । एक रुपैंयापनि बैंक ब्यालेन्स भेटियो भने तपाईँ नै लैजानु भनेर जवाफ दिएँ । यो ठाउँमा छौं हामी थियटरका कलाकारहरु । यति हुँदाहुँदै पनि नाटकको विकास यही गतिमा हुने हो भने अबको पाँच बर्षमा एउटा कलाकारले आफ्नो एउटा जिवन चाहिँ धान्न सक्ने बन्छ भनेर हामी आशा गर्न सक्छौं । परिवार नै पाल्ने बन्न चाहिँ अझै थुप्रै वर्ष लाग्न सक्छ एउटा थियटरको कलाकारलाई । मन खोलेर काम गर्न पैसा चाहिन्छ । पैसाको अभावमा मन खोलेर काम गर्नपनि सकिएको छैन ।
यति कठिन छ कलाकारको जिन्दगी तरपनि किन मान्छे नाटकमा काम गर्न खोज्छ भनेर धेरैपटक आफैँलाई सोधें मैले । हामी उत्सुक छौं । हरेक मान्छे आफ्नै नयाँ फिलोसफीमा चलेको छ । हरेकको आफ्नै छुट्टै संसार छ । हरेक मान्छे केहि न केहि नयाँ गर्न चाहन्छ । उत्सुकता मेटिनुमा मान्छेलाई आनन्द मिल्दोरहेछ । म पनि असल मानव समाज होस् भन्ने चाहँदोरहेछु । त्यही भएर म आजसम्म नाटकमा टिकेको रहेछु । मान्छे कहीँ न कहीँ अस्तित्वको लडाईँ लडिरहेको छ । कलाकारले गरेको भुमिकामा दर्शकले पनि आफुलाई देख्न पायो, उसको जिवन प्रतिबिम्बित भयो भने मान्छे असाध्यै खुसी हुँदोरहेछ । नाटकमा आउने धेरैको शोख पनि हुँदोरहेछ । दुनियाँले मलाई चिनोस् । तर खास काम गर्नुले अर्थ राख्छ तर चिनिनुले मात्रचाहिँ केहि अर्थ राख्दैन ।
समाज कृतिम हुँदै गइरहेको छ । कलाकारहरुले कृत्रिम होइन प्राकृतिक समाज चाहन्छन् या भनौँ कृत्रिम समाजलाई प्रकृतितर्फ धकेल्न खोज्छन् । विकासले प्रकृतिलाई मार्दै जान्छ । यहाँ दोहोरो लडाईँ चलिरहन्छ । एउटा उदाहरण बाटोमा कृत्रिमताको कारणले धुँवा, धुलो छ । यी कुराहरुले कलाकारहरुलाई हिर्काउँछ कहिले कहिले । त्यसको विरोधमा कलाकारले धुँवाकै कविता लेख्न थाल्छ होला, धुँवाकै पेन्टिङ बनाउन थाल्छ होला । उसले कुनै न कुनै रुपमा विरोध गरिरहेको हुन्छ । कलामा काम गर्ने हरुले समाजलाई एकदमै लेफ्टमा बसेर हेरिरहेको र विरोध गरिरहेको हुन्छ । धेरै मान्छेहरुलाई समाजका विसंगत पक्षको महशुस नै हुँदैन । त्यही भएर एउटा कलामा काम गर्ने मान्छेले मानिसलाई यो विसंगत पक्षको अनुभुती गराउँछ या भनौँ गराउन खोज्छ ।
हामी नाटक वा फिल्ममा काम गर्नेले कति इमानदारिताका साथ कथा भनिरहेका छौँ भन्ने कुराले अर्थ राख्छ । मैले धेरै कलाकारहरु देखेको छु जसभित्र मञ्चमा काम गर्ने कलाकारको भन्दा धेरै सामथ्र्य छ । तर उचित ठाउँ नपाएकाले उनीहरुको कला यत्तिकै मरिरहेको हुन्छ । मेरो अनुभवले के भन्छ भने रंगकर्मीहरु चाहिँ सत्यको अलि बढि खोजी गर्ने प्रकृतिका हुन्छन् । रंगक्षेत्रले देखावटी कुरामा त्यति विश्वास गर्दैन । एउटै वस्तुलाई हेर्ने धेरै कोण हुन्छन् । नाटकमा चाहिँ एउटै वस्तुलाई अनेक कोणबाट हेर्ने अभ्यास गरिन्छ ।
रंगक्षेत्र र फिल्म दुईटा फरक माध्यम हरु हुन् । रंगकर्मीलाई सबै अवस्थामा फिल्म उचित ठाउँ हुन्छ भन्ने मलाई लाग्दैन । कथाको सेटिङ र वातावरणले कस्तो किसिमको चरित्र माग्छ भन्ने सवाललाई ध्यान दिनुपर्छ । कथाको संस्कार, भाषा, रिदम, मोसन बुझेको कलाकार खोज्ने हो पहिलो त । दोश्रोचाहिँ त्यहि अनुसार चरित्रलाई बनाउने हो । चरित्र बनाउनका लागि समय लाग्छ । मान्छेहरु चरित्र निर्माणमा समय नै दिँदैनन् । आज आइडिया आयो भोलिपल्ट सुटिङका लागि हिँडिहाल्ने संस्कार छ । त्यहि विन्दुमा मान्छे फेलियर भइहाल्यो । एउटा कलाकारले कथा अनुसार त्यही समाजमा बसेर छ महिना चरित्र निर्माण गर्न तयार छ कि छैन ? कलाकारले चरित्रको जिवनभित्रको मान्छे निर्माण गर्छ की गर्दैन ? कलाकारको कलाप्रतिको समर्पण र लगावलाई उसले कथाप्रति न्याय गर्न सक्छ की सक्दैन भन्ने कुराले मापन गर्ने हो । चरित्र निर्माण पुर्णतया ध्यानजस्तै काम हो । यसका लागि समय लाग्छ ।
नेपाली नाट्य क्षेत्रको शुभसंकेत के हो भने हाम्रो फिल्ममा आउने अधिकांश कलाकारहरु नाटक क्षेत्रबाटै आएका छन् । नेपालमा टेलिभिजन आइसकेपछि नाटकका मान्छेहरु टेलिभिजन र फिल्मतिर गएका मात्र हुन् । कलाकारहरु उत्पादन गर्ने लामो परम्पराचाहिँ नाटकले नै विकास गरेको छ नेपालमा । अहिले नेपाली फिल्म क्षेत्रको अवधारणा परिवर्तन हुने चरणमा छ । हिजो जुन दर्शनले फिल्म चलेको थियो त्यो परिवर्तन हुन जरुरी छ । अहिलेको पुस्ताले त्यो दर्शनलाई आत्मसात गर्न इन्कार गरिसकेको छ । अर्को कुरा चाहिँ अहिले प्रविधिले मानिसलाई छनोटको स्वतन्त्रता प्रदान गरेको छ साथै उसको पहुँचपनि बढिरहेको छ ।
एउटै मान्छेले इरानी, बलिउड, हलिउड र नेपाली फिल्म हेर्ने पहुँच बनाएको छ । त्यसैले हलमा गएर भन्दा घरमै बसेर राम्रो फिल्म हेर्न पायो भने मान्छे हलसम्म जाँदैन । जसका कारण यतिबेला नेपाली निर्देशकहरुपनि प्राकृतिक अभिनय गर्न सक्ने उम्दा कलाकारहरुको खोजिमा छन् । अब तिलस्मी नायकका उडन्ते कथा खिपेर फिल्म बनाउने जमाना गइसक्यो । अभिनयमा प्राकृतिक रुपले खारिएका थियटरका कलाकारहरुलाई निर्देशकहरुले तान्न थाले । त्यसको परिणाम नै नेपाली फिल्ममा थियटरको जबर्जस्त छाप परेको हो ।
अभिनय भनेको एकचोटी सिकेर जिवनभरलाई हुने होइन रहेछ । मान्छेको जिवन, भावना र समाजको मुभमेन्ट परिवर्तन हुँदै गइरहेको हुन्छ । समयसंग म्याच हुनका लागि पनि आफ्ना सबै इगोलाई त्यागेर शुन्यदेखि अभिनय सिक्नुपर्ने अवस्था पनि आउँछ कलाकारको जिवनमा । त्यसका लागि तयार रहने मान्छे नै साँचो अर्थमा कलाकार हो ।
नेपाली नाटक क्षेत्रमा रहेका कारणले पनि नाटकलाई नै लिएर मेरा केहि सपना छन् । नेपाली नाटक भनेको के हो त्यसको खोजी गर्नु छ । अभ्यास गर्दागर्दै कहीँ न कहीँ गएर नेपाली थियटरको मौलिक स्वरुप निस्किन्छ वा भनौँ निस्किन जरुरी छ । इन्डियन प्ले, वेस्टर्न प्ले, चाइनिज प्ले को आफ्नै मौलिकता छ । उनीहरुसंग छुट्टै मौलिक किसिमको शैली छ । तर हाम्रो नेपाली नाटकको मौलिक शैली के हो त ? यसको खोजी गर्ने सपना छ । अर्कोचाहिँ ड्रामा स्कुल खोल्ने सपनापनि छ । यो चाहिँ मेरोमात्र व्यक्तिगत पहलले पुरा हुन सक्दैन । नाटकमा लागेका पुराना हस्तिहरु हुनुहुन्छ, नयाँ केहि गरौं भनेर जोश जाँगर बोकेका युवाहरुपनि छन् । हामी सबैको सामुहिक पहलमा ड्रामा स्कुल खोल्न सक्यौं भने त्यसले नेपाली नाटकलाई अर्कै उचाइमा पु¥याउँछ भन्ने विश्वास छ ।