तिमी ठूलो भएर के बन्छौ ? मोहन जहिल्यैको विज्ञान सर, हर्के जहिल्यैको डाक्टर, काँहिलो जहिल्यैको हिरो, चमेली जहिल्यैकी गायीका । मेरो चाहिँ हात जहिल्यै हावामा, जिब्रो जहिल्यै चुपचाप । अंग्रेजी घण्टीको अन्तिममा हरेक दिन विज्ञान सरले सोध्थे, म हात उठाएर हाँसीमात्र रहन्थें । अनि सर भन्नुहुन्थ्यो, ‘तँ बुजु्रक नेता बन्नु ।’ म जहिल्यै दुबिधामा पर्थेँ– म के बन्नु ? नेता बनुँ भनेँ नेता कस्तो हुन्छ ? के गर्छ ? केहि थाहा छैन । डाक्टर इञ्जिनियर पनि न देख्या छ न राम्ररी बुझ्या छ । अब डाक्टर, इञ्जिनियर, नेता बन्नु अगाडी तिनका बारेमा नबुझी के यो हुन्छु भन्नु । नबुझ्न नी खोज्या होइन । दुईचारचोटी गाउँमा डाक्टर, इञ्जिनियर आ’का छन् भन्ने हल्ला सुनेको हो तर मलाई घरबाट एक्लै हिँड्न दिँदैनन् । फेरि ति डाक्टर इञ्जिनियर हाम्रो चिया पसलमा चिया बिस्कुट खान पनि आएनन् ।
म कक्षा दुईमा पढ्थें । घरबाट स्कुल जान पैँतालिस मिनेट हिँड्नुपथ्र्यो । एक्लै हिँड्दा हराउँछ भनेर नौ कक्षामा पढ्ने तल्ला घरका दानबिरे काकाकी छोरीले संगै स्कुल ल्याउने पु¥याउने गर्थिन् । मलाई चाहिँ एक्लै घरबाट स्कुल जाउँजस्तो लाग्ने । एकदिन घर फर्किँदा दिदीलाई सोधें– म ठूलो भएर के बनम् ? दिदी भन्थिन्,‘धेरै पढेर पुलिस् बनेस् ।’ ओहो ! त्यस्तो डरलाग्दो बन्नु ? त्यस्तो डरलाग्दो हुनपनि धेरै पढ्नुपर्ने रै’छ । आफुलाई भने पढ्नमा भन्दा धेरै ध्यान छुट्टिको दिनको गोलिडन्डामा हुन्थ्यो ।
एउटा शनिबार बा कसैको मेला गएनन् । आमा दोकानमै थिन् । बाबाले हिँड् घट्ट मकै पिँध्न भने । हिँड्न भनेपछि खुब जाँगर चल्ने मलाई । घरबाट घट्ट पुग्न आधाघण्टा लाग्थ्यो । बाटो ठूलै थियो । गाडीचाहिँ बर्षमा कहिले कहिले आउँथे बाटोमा । गाडी देख्न तीनघण्टा हिँडेर खुमलटार पुग्नुपथ्र्यो ।
अझै धेरै गाडी देख्नचाहिँ खुमलटारबाट दुई घण्टा गाडी चढेर सदरमुकाम नै पुग्नुपथ्र्यो । बुवाभन्दा अलि पछाडी अथवा अलि अगाडी हिँड्यो कि बाटो भुलिन्छस्, घर आइपुग्दैनस् भनेर संगसंगै हिँडाउनुहुन्थ्यो । म पनि बाटो देख्न पाए कस्तो हुन्थ्यो होला, नहराउन पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो । पसलमा कहिलेकाँही मान्छेले फलानो ठाउँमा मन्दिर बना’का छन् रे , फलाना ठाममा झरना छ रे भन्दा एक्लै जान पाए हुन्थ्यो, बाटो देख्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।
घट्टबाट फर्किँदै गर्दा बालाई सोधें–‘बा यी डाक्टर र इञ्जिनियर कस्ता हुन्छन् ।’ बाले हाँस्दै भने,‘डाक्टर डाक्टरजस्तै, इञ्जिनियर इञ्जिनियरजस्तै हुन्छन् केटा ।’ फेरि सोधें– ‘म चैं ठूलो भ’र के बनुम् त उसो’भा ?’ बाले खै के सोचेर पुलुक्क हेरेर भने–‘डाक्टर बनेनी भो इञ्जिनियर बनेनी भो ।’ फेरि खै के सोचे बाले तलदेखि माथिसम्म हेर्दै भने– ‘इञ्जिनियर बनेस् केटा देश विदेश घुम्न पाउँछस् ।’ ओ हो ! घुम्न पाइयो त सकियो । अब छोरो इञ्जिनियर भो । भोलिपल्ट स्कुलमा सरले फेरि सोधे । जुरुक्क उठेर इञ्जिनियर बन्छु भन्दिम् की जस्तो लाग्यो । फेरि सोचें– आ यो सरलाई के भनिराख्नु, एकैचोटी इञ्जिनियर बनेर देश विदेश घुमेरै देखाइदिन्छु । मोहन, हर्के, काइँलाले जहिल्यै कै विज्ञान सर, हिरो र डाक्टर बनिरहे ।
त्यो दिनदेखि गोलिडण्डा खेल्न बन्द । यत्रो इञ्जिनियर भ’र देश बिदेश घुम्ने खुट्टालाई गोलीडण्डा खेलेर गलाउनु हुँदैन । एकदिन शनिबार तल काली खोलामा पुल बनाउने मान्छे आउँदैछन् भन्ने सुनियो । बाले हिँड् केटा इञ्जिनियर हेर्न मात्र के भनेथे खुट्टा पुरै फुरुङ्ग भो । सुकिलो राम्रो को नाममा निलो स्कुलको पाइन्ट ला’र हिँडियो इञ्जिनियर हेर्न । बगरभरि मान्छे नै मान्छे थे । एकछिन पछि खोलापारी एकहुल मान्छे आ’को देखियो ।
बगरमा आएपछि यताबाट दुईजना मान्छे गएर ठूल्ठूला दुईटा झोला तारेर ल्याए । एउटा मान्छे र एउटा झोलालाई पारी नै छाडेर चश्मा ला’को एउटा कालेकाले मान्छेलाई मानविरे काकाले काँधमा बोकेर खोला तारे । बाले सुटुक्क कानमा भने–‘ए… हेर केटा इञ्जिनियर ।’ मनमनै विचार गरें– कस्तो हुतिहारा इञ्जिनियर र’छ, खोलै तर्न नजान्ने इञ्जिनियरले देश विदेश कसरी घुम्ला ? झट्ट फेरि सोचें– ए……यो त इञ्जिनियर पो त, जहाँजहाँ जान्छ खोला देख्ने बित्तिकै छु मन्तरमा पुल बनाइदिन्छ, अनि आफैंले ब’नाको पुलबाटै तर्दो हो ।
टिलिक्क टल्किने कालो जुत्ता, कालै पाइन्ट, रातो कमिज अनि बेहुलाले लाउने जस्तो इस्त्रि धसेको कालो कोट र ऐना देखिने चस्मा ला’को इञ्जिनियर मेरै अगाडिबाट माथितिर गयो र अल्लि माथि गएर झोलाबाट अनेक झ्याम्टा झिकुटा झिकेर तीनलौरे डण्डा गाड्दै टुप्पाबाट पहेंलो दुरपिनले पारी हेर्न थाल्यो । पारीको मान्छेपनि त्यसै गर्दैथ्यो ।
अनेक ताना त्रिकुटा मिलाउँदै दुरपिन यता र उता सार्दै पारीको मान्छेलाई हातले यता र उता भन्दै दुरपिन बिसायो र झोलाबाट कालो चारपाटे पटाइजस्तो उघारेर के के थिच्न थाल्यो । बाले सुटुक्क भने,‘हेर केटा कम्पुटर ।’ सोचें इञ्जिनियर बन्न सानो कम्पुटरपनि चाहिने र’छ । दुरपिन, ऐना देखिने चश्मा, काला जुत्ता, बे’मा लाउनेजस्तो कोट चाहिँदोर’छ । बाले हिँड् केटा साँझपर्छ भनिहाले, मैले एकछिन बसौँन बा पुल हेरेर जाम्ला भनें । बासंगै अरु मान्छेपनि खितिती हाँसे । दानविरे काकाले हाँस्दै भने–‘अझै सात आठ मै’ना लाग्छ केटा पुल बन्न ।’ आम्मामामा ! इञ्जिनियरले भन्दा त गाउँभरीका मान्छेले एक–एक घनु बाँस बोकेर आएदेखि एकदिनमै बन्छ ना’थे पुल । घरजाँदा बाटोमा बालाई सोधें–‘बा तो कम्पुटर र दुरपिनलाई कति रुप्पे पर्छ ?’ कम्पुटरलाई पचास हजार पर्छ रे केटा दुरपिनलाई त अझ धेरै पर्ला– बा जान्ने पल्टिए ।
भात खा’र सुत्दैगर्दा यस्सो सोचें– त्यत्रो बिधी कम्पुटर, दुरपिन किन्ने पैसो काँ बाट ल्याउने ? त्यस्तो जुत्ता, त्यस्तै कोट, चश्मा किन्ने पैसोपनि छैन । यो इञ्जिनियर बनेर काम रै’नछ । एउटा जाबो पुल बनाउननी आ–आठ मैना लाउँदो र’छ । उता फर्किएर बाको पसिना गनाउने कुममा घुस्रिँदै भनें–बा मलाई इञ्जिनियर मन परेन अब डाक्टर हुन्छु । भोलिपल्ट अंग्रेजी घण्टीमा फेरि सरले सोधे– हात उठाएर डाक्टर भन्दिम् कि जस्तोपनि ला’गो । फेरि सोचें, डाक्टर पनि इञ्जिनियर जस्तै धोकेबाज र त्यस्तै धनी निस्कियो भने ? त्यसदिन पनि चुपचापै बसें ।
अलिदिन पछि एकदिन मावलबाट हजुरआमा आउनु’भो । आँखाबाट आँसुु आ’को आयै गरेर सदरमुकाम अस्पताल जान आउनुभ’को बुझियो । भोलि बिहानै अस्पताल लाने कुरा भो र मुलबाटो खुमलटारसम्म पुग्नलाई आमालाई बोक्न साँझमा तल्लाघरे मानबिरे काकाको मा घोडा भन्न बा गए । म ओछ्यानमा पसें । मनमनै सोचें–बाले मलाई पनि सदरमुकाम लगेत गज्जबै हुन्थ्यो । एकछिन पछि बा आए र ओछ्यानमा पसे । म लाडे भएर बाको पसिना गनाउने कुममा घुस्रिँदै भनें– बा म’नि डाक्टर हेर्न सदरमुकाम जान्छु नी ? बाले लु न त बिहाना छिट्टै उठ्नुपर्छ अहिले सुत् भने । के खा’र निन्द्रा लाग्थ्यो र । रै पनि डाक्टरका बारेमा सोच्दासोच्दै कतिबेला निदाएछु । बाले बिहानै उठाए । सुकिलोमुकिलो त्यही स्कुलको निलो पाइन्ट ला’र घोडामा आमाको अगाडी बसेर हिँडियो सदरमुकाम डाक्टर हेर्न ।
‘ओइ केटा उठ् अब डाक्टर आउने बेला भो’– बाले भने । घोडामा चढेर हिँड्दा कोक्रामा झुलेझैँ भा’थो । कतिबेला भुसुक्कै भएँछु । थुक्क गाडी चढ्या नी था’पाइनछु । म ब्युँझिँदा गज्याङ गुजुङ हल्ला थ्यो । हामी फलामे कुर्सीमा बसेका थिम् । कोही मान्छे झोलामा स्याउ बोकेर, कोहि पानीका बट्टा बोकेर यताउता गर्दै थे । अचानक सप्पै मान्छेका आँखा एकैतिर हेर्न थाले । बाले पनि उतै हेर्न थाले । म पनि कुर्सीमा चढेर तन्कितन्की हेर्न थालें । परबाट दुईजना सेता लुगा लगा’का राम्रा दिदीहरुसंग कुरा गर्दै एउटा लामो सेतो कोट ला’को मान्छे आयो । बाले ‘लु डाक्टर साब आए अब’, भने ।
टक्टक् इञ्जिनियरका जस्ता काला जुत्ता बजाउँदै सिसाको चस्मा ला’को, सेतो कमिजमा कालो टाइ ला’को मान्छे घाँटीमा पाटको दाम्लोजस्तो बेरेर हाम्रै अगाडीबाट गयो । ओ हो ! डाक्टर भनेको ठूलै मान्छे हुँदो रै’छ । हामी बाहिरै बसिरह्यौँ । म फेरि सोच्न थालें– घाँटीमा लाउने त्यस्तै पाटको दाम्लो त बाले बाटिदिन्छन् समस्यै भएन । तर यो सिसाको चस्मा, काला टल्किने जुत्ता, सेतो कोट, टाइ चाहिँ काँ बाट पैसा ल्या’र किन्नु ? त्यत्ति नै बेला एउटी दिदी आएर, ‘पालो आयो भित्र जानुस्’, भनिन् । हामी भित्र गइम् । डाक्टर कुर्सीमा बसेका थिए । हामी जानासाथ कागज हेर्दै आमालाई आफ्नो छेउमा बोलायो र आँखा च्यातेर हेर्न थाल्यो । अनि घाँटीको दाम्लोजस्तो खोलेर दुई तिरको टुप्पो कानमा घुसायो, अर्कोपट्टिको ठोसो आमाको छातीमा राखेर घरी यता घरी उता सारिरह्यो । अर्को घडि भा’को कपडा निकालेर आमाको पाखुरामा बाँध्दै कपडाको तल झुण्डिएको सानो बेलुन फ्याँसफ्याँस पार्न थाल्यो । त्यसपछि आमालाई पर्दा भएको कोठामा लग्यो । म चाहिँ खुसुक्क त्यही पर्दाबाट यस्सो चिहाएँ ।
ओ हो ! त्यो डाक्टरले त आमालाई अगाडि राखेर त्यो इञ्जिनियरको भन्दा ठूलो दुरपिनले आमालाई हेर्दै र’छ । यस्सो उतापट्टि हेरें, टेबलमा इञ्जिनियरको भन्दा ठूलो थिच्ने भा’को कम्पुटर थियो । आ’र बालाई भनें– बा यो डाक्टरपनि इञ्जिनियरजस्तो र’छ । त्यस्तो दुरपिन, कम्पुटर, जुत्ता, टाइ, कोट किन्न पैसा छैन बा । म डाक्टर बन्दिन ल । बाले भने– चुपलागेर बस् केटा याँ हल्ला गर्नु हुन्न । एकछिनपछि डाक्टर निस्कियो र एउटा चिर्कटोमा के–के लेख्दै भन्यो, ‘अप्रेसन गर्नुपर्दैन औषधि खाँदा हुन्छ ।’ त्यो चिर्कटो बुवालाई दियो । मैले यस्सो चिहाएर हेरें– चारपाँच ठाउँ अंग्रेजीमा हाम्रो हेडसरले जस्तै सहि गरेको थियो । जम्मा ए र इ मात्र बुझें । झट्ट बिरेलाई सम्झिएँ । विज्ञान सर हुन्छु भन्थ्यो कमसे कम विज्ञान सरले कालोपाटीमा लेखेको अंग्रेजी त बुझिन्छ । कतिबेला त्यहाँबाट निस्कौँ जस्तो लाग्यो । डाक्टर पनि धोकेबाज निस्कियो । बाहिर बाले चिर्कटो देखाएर दोकानबाट ओखती किने ।
साँझ पर्न लागेको थियो, सरासर गएर गाडीमा चढियो । हामी ढोकाको छेउमा बसेका थिम् । आमा भित्तापट्टि, बुवा छेउपट्टि र म बुवाको काखमा बसेको थिएँ । उत्तापट्टि म जस्तै अर्को केटो सायद आमासंगै बसेको थियो । एकछिनमा भ्यार्र कराउँदै गाडी हिँड्न थाल्यो । बिस्तारै हिँड्दा हिँड्दै एकैचोटि हुटिट्याउँजस्तो उफ्रेर एउटा केटो ढोकामा आइपुग्यो र हातले ढ्यापढ्याप पार्दै जाम् जाम् भन्न थाल्यो । मैलेजस्तै निलो पाइन्ट ला’को थियो । खुट्टामा चुटिएर गाँसेको चप्पल अनि माथि बाले मेलामा जाँदा लाउनेजस्तै पछाडि सानो दुलो परेको ठूलो कमिज ला’को थ्यो । बेलाबेला बाहिर हेर्दै कराउँथ्यो— कटुसे, ¥याम्फे, बाँसघारी, बाँसघारी । ‘खलाँसी भाइ कटुसे पुग्न कति लाग्छ— पछाडिबाट कसैले सोध्यो । ‘आधिघण्टामा पुग्छ’—खलाँसी भाइले भन्यो । एकछिन पछि आएर बालाई सोध्यो—काँ झर्ने ? बाले खुमलटार भन्दै खल्तीबाट पैसा झिकेर दिए । त्यो मान्छे छेउमा आउँदा मेरो बाको कुमबाट आउनेजस्तै पसिनाको गन्ध आउँथ्यो । खलाँसी भाइले सबै मान्छेलाई सोध्न थाल्यो । काँ झर्ने ?—कोल्टेभिर । अनि तपाईँ ?— म कटुसे । आन्टी तपाईँ नी ?— म बाँसघारी झर्ने । पछाडि पुगेर फेरि त्यो मान्छे अगाडि आएर उत्तापट्टि बस्ने आन्टीलाई सोध्यो— काँ झर्ने आन्टी ? आन्टीले ¥याम्फे झर्ने भनिन् । अनि म जस्तै केटोले सोध्यो— मेरो मावल कतिबेला पुगिन्छ ? अब एकछिनमा पुगिन्छ— खलाँसी भाइले भन्यो ।
ओ हो ! यो खलाँसी भाइलाई त सप्पै था’रछ । त्यो केटाको मावल पनि था’रछ । यो गाडीमा मावल हिँडेका जति सबैको मावल था’होला । घरपनि था’होला । खलाँसी भाइलाई त मेरो मावलपनि था’होला । खलाँसी भाइ त घट्टपनि एक्लै जान सक्छ होला । मन्दिर, झरना सप्पैतिर जान सक्छ होला ! सबै ठामको नाम था’रछ, कतै हराउँदैन होला । अचानक मलाई खलाँसी भाइ मन परेर आयो । मेरैजस्तो निलो पाइन्ट र बाको जस्तो सर्ट भए हुने र’छ । न त डाक्टर इञ्जिनियरको जस्तो दुरपिन चाहिने न कम्पुटर चाहिने । कोट, जुत्ता, चस्मा पनि नचाहिने । पैसापनि नचाहिने । एक्लै सप्पैतिर घुम्म नी पाइने । ओ हो ! खलाँसी भाइ पो बन्न सजिलो र’छ ।
सोच्दासोच्दै हेर्दाहेर्दै खलाँसी करायो—खुमलटार झर्ने आउनुस् त । बा, हजुरआमा र म तिनैजना झ¥यौँ । म त्यो गाडी पर पुगुन्जेल त्यो ढोकामा उभिएको खलाँसी भाइलाई हेरिरहें । बिहानजस्तै घोडामा झालाझुला खेल्दै राती घर पुगियो । खाना खाएर घुप्लुक्क सुतेपछि निदाइयो ।
भोलिपल्ट त्यही निलो पाइन्ट लाएर सानका साथ स्कुल गइयो । हरेक दिनझैं विज्ञान सरले अंग्रेजी घण्टीको अन्तिममा सोधे— ठूलो भएर के बन्छौ अरे ? मोहनेले जुरुक्क उठेर भन्यो, ‘म विज्ञान सर बन्छु ।’ पुलुक्क हेरेर मनमनै सोचें, ठिक छ । हर्के जुरुक्क उठेर भन्यो, ‘म डाक्टर बन्छु ।’ यस्सो तलतिर हेरें हर्केको जुत्ताबाट बुढि औँलाले हेरिरा’को थियो । मनमनै भनें— तेरो डाक्टर हुने जुत्ता देख्दै छु म । काँइलो एकछिन हिरै भो । अनि चमेली गायीका । कक्षाका अरु साथीले दिनैपिच्छे फरक फरक हुन्छु भन्थे त्यसैले अरुको याद भएन । जब सबैको पालो सकियो तब मैले टक्क हात उठाएँ । सरले हेरिरहे । अनि बेन्चिमाथि चढेर गर्वसाथ भनें— म खलाँसी भाइ बन्छु सर ।