कथा
नीतिका घिमिरे
ऐना हेर्दै सिउँदोमा सिन्दुर लगाउँदै थिएँ एक्कासि फोनको रिङ्गटोन बज्यो, फोन हेर्ने बित्तिकै म झस्किएँ, हातमा रहेको सिन्दुरको बट्टा भुइँमा झरेर भुइँ भरि सिन्दुर पोखियो ।
काँपिरहेको मेरो हातले फोन रिसिभ गरेँ, उताबाट जीवनले भन्दै थियो ुसन्ध्या ढिलै भए पनि सुखद दाम्पत्य जीवनको शुभकामना, म भाग्यमानी रहेछु तिम्रो नम्बर पत्ता लगाउन सफल रहेँु। यति भनि सक्ने बित्तिकै फोन काटियो ।
जीवन , जो मेरो ब्याचलर पढ्दाको साथी थियो । ब्याचलरको पहिलो दिन क्लासमा ३ दर्जन बढी विद्यार्थी हुँदा पनि एकदम शान्त लागेको थियो । केही दिनपछी साथीहरू निरु, कल्पना, जीवन, विबेकसँग परिचय भयो । सबैजना एकदमै मिलनसार । त्यही साथीहरू मध्ये एक थियोे जीवन । उस्को घर ताप्लेजुङ अनि मेरो चाहिँ बाग्लुङ । ताप्लेुजुङु र बाग्ुलुङु राइमिङ मिल्छ है सन्ध्या हाम्रो ठाउँको उ यसरी नै ठट्टा गरिरहन्थ्यो ।
समय बित्दै गएको थाहा थियो तर जीवनसँग कपि साट्दा साट्दै मन पनि साटिएको त मैले पत्तो पनि पाइनछु । हो हामी प्रेममा पर्यौँ , अझ भनौं गहिरो प्रेममा । हामी छुट्टी भयो कि कतै घुम्न जान्थ्यौँ । अनि पारी क्षितिजमा घाम नडुबुन्जेल गफ गरेर बिताउँथ्यौँ । यसरी नै दिन बित्दै गयो । हामी ब्याचलरको अन्तिम वर्षमा थियौं । उ भन्थ्यो ुसन्ध्या म त ब्याचलर सकेपछी बिदेश जान्छुु । मलाई उस्को बिदेश जाने कुरा पटक्कै मन पर्दैनथ्यो, यहि कुरामा हामी बिच झगडा पनि भएको थियो ।
कलेज जाने दिन पनि सकियो । कलेज जान छोडेपछि पहिले जस्तो भेटघाट गर्ने मौका मिल्दैनथ्यो । उ बिदेश जाने प्रोसेसमा राजधानी तिरै थियो । म चाहिँ बाग्लुङ नै फर्किएँ । ुबिदेश जानू अघि घर गएर आउँछु भनेर आज ताप्लेजुङ जाँदै छु सन्ध्याु फोनमा उस्ले भन्यो ।
लौ शुभयात्रा , राम्रोसँग घर गएस्, बुबाआमाको काखमा पुगेपछी मलाई नबिर्सिएस्ु मैले भनेकी थिएँ । उस्ले घर पुगेँ भनेर एक कल फोन सम्म गरेन । घर पुगेर बिर्सिएछ सायद, भोलिपल्ट फोन गरेँ फोन लागेन । पर्सि, निकोर्सी कहिल्यै फोन लागेन । जीवनको घरको फोनमा पनि फोन लागेन । फेस्बूकमा पनि अन्लाईन नआएको हप्तौं भयो।
बिदेश जाने भएर मलाई बिर्सिएछ सायद । तर मेरो माया किन यति कमजोर भयो उस्को बोली बिना, उस्को खबर बिना, उस्को माया बिना म त पागल झैँ भएँछु । म घरमै बसिरहन्थेँ । सामाजिक संजाल र फोनबाट पनि टाढा भएँ । मेरो बद्लिएको स्वभाव देखेर घरमा मेरो बिहे गर्दिने निर्णय गर्नुभयो । मैले बिहे गर्दिन भन्दा भन्दै पनि आखिर मेरो बिहे भएरै छोड्यो ।
नयाँ जीवन सुरु भएपछि केही हदसम्म जीवनलाई भुलाएकी थिएँ मैले । बितेका यति धेरै पल सम्झिएपछि म झसङ्ग भएँ । जीवनलाई कलब्याक गर्न मन लाग्यो । आखिर किन उ सम्पर्कबिहिन भएको थियो फोन गरेर उसलाई मैले उ एक्कासि हराउनुको कारण सोधेँ । जीवनले केही भन्न चाहेन तर मैले धेरै अनुरोध गरेपछी उ बोल्न थाल्यो ूमैले तिम्लाई फोन गरेको भोलिपल्ट म घर पुगेँ । घर पुग्दा मुसलधारे पानी परिरहेको थियो । चार दिन देखि यस्तै गरि पानी पर्दैछ बुबाले भन्नुभयो । यस्तै पानी परिरह्यो भने पहिरो जान बेर छैन यो पाखामा भन्दै आमा उदास हुनुभयो । नभन्दै त्यो दिन राती नै हाम्रो घर लच्कियो । अब घरमा बस्न उचित हुन्न ठानेर हामी अलि पर छिमेकीकोमा गयौं, हामी घर छोडेर हिँडेको केही बेरमै घरबारी पहिरोले लग्यो ।
घरमा बसेर त्यही बारी खनिखोस्री गर्दा हातमुख जोर्न पुग्थ्यो तर अब त न घर छ न त बारी, अब मसँग मेरा बाआमा बाहेक केही बाँकी थिएन । मैले तिम्लाई कहिँ कतैबाट फोन गर्ने हिम्मत नै राखिन । अब म बिदेश जाने कुरै भएन , त्यसैले मैले ताप्लेजुङ तिरै सानोतिनो काम गर्न थालेँ । समय धेरै बितिसकेछ, तिमी टाढा भैसकेछौ ।ू
यो सबै सुनिसकेपछि मेरा आँखाबाट जीवनको नाममा झरेका आँसुहरु भुइँभरि पोखिएको मेरो श्रीमानको नामको सिन्दुरमा मिसियो ।