काठमाडौँ, २ भदौ । नेपाल विद्यार्थी संघको अध्यक्षमा पार्टी सभापति शेरवहादुर देउवा निकट नैनसिंह महर निर्वाचित भएका छन् ।
केहीबेर अघि सम्पन्न मतपरिणाम अनुसार महर एक हजार ३ सय ३४ मतका साथ विजयी भएको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले एक हजार २ सय ९ मत प्राप्त गरेका थिए ।
त्यसैगरी महामन्त्रीमा पनि सोहि प्यानलका कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका हुन् ।
यसैबीच नवनिर्वाचित अध्यक्ष महरले आमविद्यार्थीको भावनालाई आत्मसात् गरेर सङ्गठनलाई अघि बढाउने प्रारम्भिक प्रतिक्रिया दिए ।
उनले ११औँ महाधिवेशन एकताको महाधिवेशन भएको र यसले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
अध्यक्षका प्रत्यासी आचार्यले नेविसंघले आमविश्वविद्यालयका विद्यार्थीको भावना समेटेर अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी कार्यकालको शुभकामना व्यक्त गरे ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशन गत साउन २३ गते सुरु भएको थियो ।
नेतृत्व चयनका लागि बुधबार बिहान १२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया आज बिहान ९ बजेर ४५ मिनेटमा सकिएको थियो । विद्युतीय मतदानका कारण चाँडो परिणाम आएको हो ।
निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुका अनुसार तीन हजार ३ सय ७ प्रतिनिधिले मतदान गरेका थिए ।