काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना लागि मुलुकको पक्षका केही महत्वपूर्ण काम गर्ने चुनौतीपूर्ण अवसर प्राप्त भएको बताएका छन्।
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आज गोरखाका जौबारीको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा कुरा गर्दै उनले मुलुक र जनताका पक्षका केही न केही गरौँ भन्ने सोंच रहेको र त्यसलाई पूरा गर्न सबैको साथ तथा सहयोग जरुरी रहेको बताए।
प्रधानमन्त्री दाहालले भने, “राजनीतिक परिस्थिति एकदमै चुनौतीपूर्ण छ । जनताको आकाङ्क्षा धेरै छन् । म र मेरो पार्टीका लागि चुनौतीपूर्ण अवसर प्राप्त भएको छ । यसबाट केही परिणाममुखी काम गर्नेछु भन्ने विश्वास पनि पैदा भएको छ ।”
उनले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
प्रधानमन्त्रीले गोरखा जिल्ला ऐतिहासिक र परिवर्तनको आन्दोलनका दृष्टिले पनि निकै महत्वपूर्ण भन्दै निश्चल मनले शुभकामना दिएकामा सबैलाई धन्यवाद दिए। सो अवसरमा गोरखा जौबारीका प्रतिनिधिमण्डलले गोरखा जिल्लाको समग्र विकास र योजनाका बारेमा प्रधानमन्त्री दाहालसँग माग गरेको थियो ।