दोलखा, १७ भदौ । दैनिक गुजारा चलाउँदै आएको आफ्नो थातथलो छोडेर जान कसैको मन मानेन । यही थातथलो नछोड्दा आएको पहिरोले छ्योत छ्योत गाउँका केहीलाई जिन्दगीले नै छोडेर गयो ।
माथिल्लो तामाकोसी आयोजानाको ड्यामसाईट भन्दा तल्लो क्षेत्रमा रहेको सो गाउँमा तामाङ समुदाय जीविकाका लागि बसोवास गर्दै आएका थिए ।
बुधबार राति करिब १० बजे लामाबगर गाविस– ४ स्थित छ्योत छ्योत गाउँको माथिल्लो लेकबाट खसेको पहिरोले चारवटा घर पुरिएर दुई जनाको मृत्यु र पाँचजना बेपत्ता भए ।
गाउँमाथिको लेकबाट मध्यरातमा झरेको भीषण पहिरोले बस्ती पुरेपछि पीडित बनेका गाउँबासीले भेटिएको शवको दाहासंस्कार त गरे तर पहिरोमा बेपत्ता भएकाहरु अझै फेला नपर्दा शोकाकुल बनेका छन् ।
लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलबिद्युत् आयोजनाको पावर हाउस गोंगरबाट बाँधस्थल पुग्ने सडकखण्डमा पर्ने सो गाउँ सदरमुकाम चरिकोटबाट ६१ किलोमिटरको दुरीमा पर्छ ।
घटनास्थल पुगेर फर्किनुभएका प्रहरी नायव उपरीक्षक रवीन कार्कीकाअनुसार बस्ती भन्दा माथिल्लो क्षेत्रबाट झरेको पहिरोले स्थानीयवासीका घर बगाएर तामाकोसी नदीमा पु¥याएको र पहिरोले नदी केहीबेर थुनिएका कारण बेपत्ता भएका व्यक्ति नदीमा बगेको हुनसक्ने आशङ्का छ ।
पहिरोले स्थानीय विक्रम तमाङ, उनका बाबु मङ्गले तमाङ र मीनबहादुर ठकुरीको दुईवटा घर बगाएकाले घटनामा मङ्गलेका छोरा विक्रमको घरमा सुतेका विक्रमका भाइ २१ वर्षीय गदुले तमाङ र छिमेकी पतमार्याँ तामाङ पहिरोमा पुरिएर मृत अवस्था फेला परेका थिए ।
मङ्गलेको घरमा सुतेका मङ्गलेसहित उनकी श्रीमती पातमाया, छोरी तिर्सी, तिर्सीकी छोरा क्षेसाङ, मङ्गलेकी सासु सतमाई तमाङ बेपत्ता भएका छन् ।
माथिल्लो तामाकोसीको टनेलमा मजदुरी गर्दै आएका विक्रम घटनाका बेला कार्यस्थलमै थिए । घरमै रहेका बिक्रमकी श्रीमती लालमाई र छोरी लक्ष्मी भागेर राति ओढारमा बसेर ज्यान जोगाए ।