काठमाडौँ, १९ भदौ । उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)का पूर्व सचिव बुद्धि पुडासैनीको निधन भएको छ ।
५१ वर्षीय पुडासैनीको आज उपचारका क्रममा मुत्रथैलीमा क्यान्सर रोगका कारण ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा निधन भएको हिसानका महासचिव लोकबहादुर भण्डारीले जानकारी दिए।
उनी ५ दिन अघिमात्र उपचारका क्रममा ग्राण्डी अस्पतालमा भर्ना हुनु भएका थिए ।
रेडन कलेज सामाखुसीका प्रबन्ध निर्देशकसमेत रहेका पुडासैनीलाई सात महिनाअघि मात्र क्यान्सर भएको थाहा भएको हो ।
गोर्खामा जन्मिएका उनी सामखुसीमा श्रीमती र तीन छोरासँगै बस्दै आएका थिए ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
पूर्व सचिव पुडासैनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न हिसानले मंगलबार देशभरि हिसान आवद्ध उच्च मावि÷कलेजको पठनपाठन बन्द गर्ने निर्णय गरेको महासचिव भण्डारीले जानकारी दिए । हिसानसँग देशभर करिब एक हजार ५० उच्च मावि तथा कलेज आवद्ध रहेका छन् ।
पुडासैनी हिसानको अघिल्लो कार्यकालमा सचिव रहेका थिए।