काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले गर्न लागेको छिमेकी मुलुक भारतको भ्रमण असल नियतका साथ विश्वासको वातावरण बनाउने मार्गमा केन्द्रित हुने बताएका छन् ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा भोलिदेखि हुने आफ्नो भारत भ्रमणको बारेमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले नेपाल र भारतबीच रहँदैआएको सहयोगात्मक सम्बन्ध विस्तार गर्न आफ्नो भ्रमणबाट थप सहायोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भारतको चारदिने राजकीय भ्रमणका लागि भोलि त्यसतर्फ जादै छन् ।
भारत भ्रमणबाट दुई देशबीच विश्वासको अभिवृद्धि हुनुका साथै विगतमा भएका आर्थिक र भौतिक पूर्वाधारसम्बन्धी परियोजना निर्माणका बारेमा छलफल र विचारविमर्श हुने प्रधानमन्त्रीले सदनलाई जानकारी दिए ।
‘‘हुलाकी मार्गको पहिलो चरणको निर्माणको कामको शीघ्र थालनी, दोस्रो चरणको निर्माणका बारेमा छलफल, ऊर्जा व्यापार सम्झौता, पञ्चेश्वर आयोजनाको अध्ययन प्रतिवेदनको कार्यान्वयलगायतका बारेमा छलफल हुनेछ’’– उनले बताए ।
वीरगन्जमा रहेको चेकपोस्टलाई कार्यान्वयन गर्दै भैरहवा र विराटनगरलगायतका स्थानमा एकीकृत चेकपोष्टको शीघ्र निर्माण पूरा गर्ने तथा सहुलियत प्राप्त गर्ने विषयमा कुराकानी हुनुका साथै नेपालको व्यापारघाटा कम गर्न, सीमापार रेल सेवा विस्तार छिटो सम्पन्न गर्ने विषयमा समेत छलफल र विचारविमर्श हुने प्रधानमन्त्री दाहालप्रचण्ड
प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा नेपाल–भारत सीमा क्षेत्रमा हुँदै आएको डुबान समस्या समाधान गर्न गहनरुपमा छलफल गरिने तथा विशाखापटनम नाका प्रयोगका सम्बन्धमा विगतमा भएको सहमतिलाई समयानुकुल बनाउन संशोधनसम्बन्धी सहमतिपत्र आदानप्रदान गरिनेछ ।
प्रधानमन्त्री प्रचण्डले बैठकमा आफनो भारत भ्रमणसम्बन्धी कार्यक्रम र भ्रमण दलमा रहने व्यक्तिको बारेमा जानकारी दिनुभएको थियो ।
संसदको यसअघिका बैठकमा सांसदहरुले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रको शीर झुकाउने कुनै सम्झौता नगर्न सुझाव दिंदै असमान सन्धि, भारतबाट आएको सीमा हस्तक्षेपका सवालबारे प्रधानमन्त्री प्रचण्डलाई आप्mना समकक्षीसँग स्पष्ट ढङ्गबाट कुरा राख्न सल्लाह दिनुभएको थियो ।
सो अवसरमा केही सांसदले भने सार्वभौम देशको प्रधानमन्त्रीले मुलुकका बारेमा निर्णय गर्न सक्ने भएको हुँदा दुई देशका सम्बन्ध अघि बढाउन र मुलुकको हितमा काम गर्न कसैले धम्की दिंदैमा खुट्टा नकमाउन आग्रह गर्नुभएको थियो ।