—नरेश रेग्मी
प्राचीन समयमा आन्द्र महासागर आसपासका इस्किमो सिकारीहरु जाडोबाट बच्न ब्वाँसोको सिकार गर्थे । व्वाँसोको भुवादार छालाले बनेको ओढ्ने निक्कै नै न्यानो हुने भएकाले उनीहरु व्वाँसोको सिकार गर्न रुचाउँथे । खानको लागि मासुपनि हुने अनि ओढ्नका लागि न्यानो ज्याकेटपनि हुने । त्यती बेला सिकारका आधुनिक बिधिहरु विकास भइसकेका थिएनन् ।
अन्य जनावर जस्तो व्वाँसो सिकार त्यति सजिलो थिएन । त्यहि भएर सिकारीहरुले व्वाँसो मार्न एउटा पृथक रणनीति बनाएका थिए । उनीहरु पहिला समुन्द्री शीलको सिकार गर्थे । शील सिकार तुलनात्मक रुपमा निक्कै सजिलो हुन्थ्यो । सिकार गरिसकेपछि शीलको रगत उनीहरु एउटा निक्कै नै धारिलो छुरामा दल्थे । चक्कु पुरै नदेखिने गरी उनीहरुले रगतको पत्र–पत्र दलेर ठाडो पारि व्वाँसो हिँडडुल गर्ने बाटोमा गाडिदिन्थे । हिउँले कठ्याँग्रिने आन्द्र क्षेत्रमा रगतले लतपतिएको चक्कु लामो आकारको मासुजस्तै देखिन्थ्यो ।
रगतको गन्धले व्वाँसो सुँघ्दै सुँघ्दै मासु चाट्न आइपुग्ने कुरा सिकारीहरुले राम्रोसंग बुझेका थिए । व्वाँसोले मासुमा लागेको रगत चाटेझैं त्यो चक्कु चाट्न थाल्थ्यो । चिसोले व्वाँसोको जिब्रो महसुस नै नहुने गरि लाटो हुनु स्वभाविक थियो । तैपनि व्वाँसो रगत चाटिरहन्थ्यो । चाट्दा चाट्दा चक्कुको धारले व्वाँसोको जिब्रो नै काटिसक्दापनि अत्याधिक चिसो र लाटो भएको जिब्रोले थाहा पाउने कुरै थिएन । बिस्तारै व्वाँसो आफ्नै आलो रगत झन मज्जा मानेर चाट्न थाल्थ्यो । आफ्नै रगत चाट्दा चाट्दा शरीरमा रगत कम हुँदै गएपछि बिस्तारै रिंगटा लागेजस्तो गरेर व्वाँसो ढल्थ्यो । यसरी आफ्नो मृत्युको पासोलाई खुब आनन्द मानी मानी चाटेर अज्ञातवस व्वाँसो आफ्नै मृत्युको इच्छापत्रमा सहिछाप गथ्र्यो ।
सिकारीहरुको सिकार गर्ने त्यो पुरानो शैली अहिले नेपालमा भिन्नै सिकार गर्न प्रयोग भयो । एउटा त्यस्तै पासो थाप्ने काम नेपालका सिकारीहरुले गरे । त्यो पासोको नाम हो— संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ । विश्वकै उत्कृष्ट भनेर प्रचारबाजी गरिएको यो संविधानपनि बाहिरबाट खाउँ खाउँ लाग्ने त्यही धारिलो धरापजस्तै हो । यो संविधान पनि पुरानो राज्यसत्ताका मुट्ठीभर सम्भ्रान्तहरुले थापेको पासो हो । आवरणमा जति नै आकर्षक देखिए पनि यो संविधान शोषणको लामो शृङ्खलालाई वैधानिकता दिएर उत्पीडित वर्ग र समुदायको सिकार गर्न निर्माण गरिएको हो । आखिरमा यो संविधानलाई सुन्दर देख्नेहरु नै सबैभन्दा पहिलो यसको सिकार हुनेछन् र सिकार भइसकेपछि फेरि तिनै प्राचीन शोषक चरित्रका सिकारीहरुले पासोमा बल्झाएका निर्दोष उत्पीडितहरुको छालाबाट बनेको भुवादार ज्याकेट लगाउनेछन् । मासु त फालाफाल ।
(यस लेखमा विभिन्न ब्लगहरुबाट मानवशास्त्रीहरुले प्राचीन सिकारीहरुको बारेमा अंग्रेजीमा तयार पारेका सामग्री र प्रतिक गुरुङले निर्माण गरेको अवधारणालाई सन्दर्भका रुपमा लिइएको छ ।)