काठमाडौं, ५ असोज । सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र काकी(राम काकी)ले आफ्नो मन्त्रालयमा गैरकानुनी काम गर्न दैनिक दुई सयजनाले घेरा हाल्ने गरेको खुलासा गरेका छन् ।
नेकपा(माओवादी केन्द्र) को भातृसंगठन अखिल(क्रान्तिकारी) क्याम्पस जिल्लाले आयोजना गरेको दोश्रो क्रान्तिकारी फुटसल कपको उद्घाटन गर्दै कार्कीले अवैधानिक काम गराउन मन्त्रालयमा घेरा हाल्ने दुईसय जनादेखि आफु वाक्कदिक्क भएको बताएका हुन् ।
‘मैले सम्हालेको मन्त्रालयमा गैरकानुनी काम गराउन दैनिक दुईसय जनाले घेरा हाल्ने गरेका छन्’, उनले भने,‘म गैरकानुनी कार्यका विरुद्धमा उत्रनेछु सडकबाट युवा विद्यार्थी साथीहरुले साथ दिनुप¥यो ।’
कार्कीले युवा विद्यार्थीको दायित्व नै निरन्तर सडकबाट सत्ताका गैरकानुनी कार्यविरुद्ध खबरदारी गरिरहनुपर्ने भएको तर्क गरेका छन् ।
अखिल(क्रान्तिकारी) क्याम्पस जिल्लाको उपत्यकाब्यापी अन्तरकलेज फुटसल प्रतियोगिता तिन दिनसम्म चल्ने क्याम्पस जिल्ला उपाध्यक्ष इन्द्र लामाले जानकारी दिए । ‘फुटसल प्रतियोगिता लगातार तीनदिनसम्म चल्ने छ’, लामाले भने,‘प्रतियोगितामा उपत्यकाका ३६ वटा कलेजका टिमले भाग लिएका छन् ।’ आजको पहिलो खेलमा रत्नराज्यलक्ष्मी क्याम्पस र चारुमति कलेजबिच प्रतिष्पर्धा भएको थियो । जसमा रत्नराज्यलक्ष्मी क्याम्पसले चारुमतिविरुद्ध १३–० को फराकिलो अन्तरले जित हासिल गरेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, दोश्रो हुनेलाई ३३ हजार तीन सय तेत्तिस र तेश्रो हुनेलाई १५ हजार पुरस्कारको ब्यवस्था गरिएको लामाले बताए ।