काठमाडौँ, १० असोज । नेपालकै जेठो सामाजिक संस्था परोपकार संस्थाले आफ्नो ७०औँ स्थापना दिवस मनाएको छ ।
संस्थाका अध्यक्ष हितकरवीरसिंह कंसकारले सामाजिक क्षेत्रमा संस्थाले थुप्रै काम गरेको उल्लेख गर्दै संस्थाको नाममा रहेका अस्पताल र अनाथलयका जग्गा सरकारले आफूखुसी प्रयोग गर्ने गरेकोमा दुःख व्यक्त गरे ।
उनले भने,“ हामीसँग कुनै छलफल नै नगरी सरकारले थापाथलीमा रहेको परोपकार प्रसूतिगृहको ३५ रोपनी र दुवाकोट भक्तपुरमा रहेको संस्थाको ३२४ रोपनी जग्गा आफ्नो स्वामित्वमा लिएको छ ।”
विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संस्था रहुन्जेल भोगचलन गर्न भनी दिएको दुवाकोटको सो जमिन केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो स्वामित्वमा लिने निर्णय गर्नु दुःखद भएको उनको कथन छ ।
दुवाकोटमा रहेको जमिनमा सरकारले वीर अस्पताल बिस्तार गर्ने निर्णय गरेको छ भने प्रसूतिगृह थापाथलीको ३५ रोपनी जग्गा अहिले पनि परोपकार संस्थाका नाममा नै रहेको कंशकारको दाबी छ ।
“सरकारले त्यसरी जग्गा लिए पनि परोपकार जस्तो सामाजिक संस्थालाई शोधभर्नास्वरुप मुआब्जा दिनुपर्छ, जसलेगर्दा संस्थाले अन्य स्थानमा सेवा विस्तार गर्न सक्छ ।” सरकारले संस्थालाई विगतमा दिइँदै आएको अनुदान रकमसमेत रोकिएकामा उनले दुःख व्यक्त गरेका छन् ।
विसं २००४ मा नेपालका प्रथम रक्तदाता तथा समाजसेवी दयावीरसिंह कंशकारले परोपकार संस्था स्थापना गरेका थिए । हाल यो संस्थाबाट परोपकार अनाथलय, परोपकार उच्च माध्यमिक विद्यालय, परोपकार चिकित्सालय र विभिन्न ३१ जिल्लामा दान विभाग सञ्चालनमा छन् भने निकट भविष्यमा दुवाकोटमा परोपकार वृद्धाश्रम खोल्ने संस्थाको योजना रहेको जनाएको छ । रासस