पर्सा, ११ असोज ।
शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले विभेदको अन्त्य नभएसम्म मुलुकमा दिगो शान्ति र राजनीति स्थायित्व पाउन नसक्ने बताएकी छिन
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बीरगन्जद्वारा आज यहाँ आयोजित ‘विश्व परिवर्तनका लागि परमात्मय ज्ञान’ विषयक प्रवचन कार्यक्रममा उनले विभेद, अन्याय र हिंसा राष्ट्र विकासका बाधक रहेकाले शान्ति प्रक्रियाका बाँकी कार्यभारलाई पूरा गरी संविधानलाई सर्वस्वीकार्य बनाउनु आवश्यक रहेको बताइन।
नेपाली काँग्रेसका कोषाध्याक्ष समेत रहनुभएका मन्त्री यादवले राष्ट्र विकासका लागि पहिलो सर्त नै शान्ति भएकाले शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्दै मुलुकमा दिगो शान्ति स्थापनाका लागि सरकार लागिपरेको चर्चा गर्दै विभेद् रहेसम्म मुलुकमा दिगो शान्ति हुन नसक्ने भएकाले विभेदरहीत समाज निर्माणमा लाग्न सबै राजनीतिक दलले साझा प्रयास गर्नुपर्दछ बताइन।
केन्द्रका मुख्य सञ्चालिका राजयोगनी राज दिदी, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र माउन्टआबुकी मुख्य प्रशिक्षक राजयोगनी उर्मिला दिदी, केन्द्र माउन्टआबुका मुख्यवक्ता भाइ मृतुन्जय र राजयोगनी किरण दिदीलगायतले आध्यात्म ज्ञानले नै व्यक्तिमा शान्ति ल्याउने र व्यक्तिमा शान्ति आएपछि मात्र समुदाय र विश्वमा शान्ति फैलने धारणा राखिन।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र वीरगन्जकी सञ्चालिका रवीना दिदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।