भक्तपुर, १५ असोज । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् ।
नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरद्वारा आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा बोल्दै भट्टराईले भारतसँग भएको २५ बुँदे सम्झौता देशको हितविपरित रहेको बताएका हुन् ।
संयोजक डा।भट्टराईले भारतसँग सम्झौता भएको दिन आफूलाई निन्द्रा नलागेको बताए । “प्रधानमन्त्रीले भारत भ्रमणमा २५ बुँदे सहमति गरी सार्वजनिक गर्दा मलाई रातभर निन्द्रा लागेन, प्रधानमन्त्रीले भारतसँग गरेको राष्ट्रघाती सम्झौताले मलाई पिरोलिरहेको छ’, उनले भने ।
सत्ता र कुर्सी टिकाउन विदेशीसँग सम्झौता गर्नुपर्ने अवस्था आइरहेमा देश विदेशीको गम्भीर कुचक्रमापर्ने बताउँदै भट्टराईले यस्तो प्रवृत्तिको अन्त्य गर्न संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
भट्टराईले भने–“पाँच वर्षसम्म स्थायी सरकार भएमा विदेशीले चलखेल गर्न सक्दैन, देश विकास र समृद्धितर्फ अगाडि बढ्छ ।”
‘प्रचण्ड’ले भारतसँग राष्ट्रियहित विपरीत सम्झौता गर्दा पनि अरु दलले त्यसको विरुद्धमा बोल्न नसकेको उल्लेख गर्दै उनले भने–“प्रधानमन्त्रीले भारतसँग राष्ट्रघाती सम्झौता गर्दा पनि अरु दलले विरोध गर्नसकेका छ्रैनन्, त्यसका विरुद्ध म बोलिरहँदा मलाई उल्टै भारत परास्त भएको आरोप लगाइरहेका छन् ।”
डा.भट्टराईले भारतसँग भएको २५ बुँदे सहमति गम्भीर भएर अध्ययन गर्न आम नेपाली नागरिकलाई आग्रह गर्दै “भारतसँग भएको २५ बुँदे सहमतिमा के के छन्, भन्ने आमनागरिकलाई थाहा छैन, त्यसलाई गम्भीर भएर अध्ययन गर्नुहोस् ।”
सम्झौता भएका बुँदामध्ये ६, १०, ११, १२, १३, १४ र २० बुँदा राष्ट्रियहित विपरित भएको जिकिर गर्दै उनले नेपाललाई भुटानीकरण गर्न प्रधानमन्त्रीले सहमति जनाएको आरोप समेत लगाएका छन् ।
“पहिला भुटानको परराष्ट्र नीति पनि भारतले आफ्नो मातहतमा ल्याएर भुटानलाई प्रयोग ग¥यो,”–डा.भट्टराईले भने “अहिले भारतले त्यही नीतिअनुरुप नेपालसंग सम्झौता गरायो, प्रधानमन्त्रीले गरेको सम्झौताले अब परराष्ट्र नीतिमा नेपाल स्वतन्त्र हुनसक्दैन ।”
भारत र पाकिस्तानमा देखिएको द्वन्द्वको परिस्थितिमा अब नेपालले आफ्नो स्वतन्त्र बिचार कसरी राख्छ भन्ने प्रश्न गर्दै भट्टराईले मुलुकमा जनतालाई क्रान्तिकारी हुँ बनेर भ्रम फैलाउँदै नेपाललाई भुटान बनाउने षड्यन्त्रमा प्रधानमन्त्री लागिपरेको आरोप लगाए ।
अहिलेको ६ महिने र ९ महिने म्यादी सरकारले देशलाई गम्भीर सङ्कटमा लैजाने भन्दै उनले देशलाई स्थिर सरकारको आवश्यकता भएको बताउनुभयो ।