काठमाडौँ, १६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्तिको मर्म र भावना युद्ध र विद्रोहबाट आएकालाई नै सबैभन्दा बढी अनुभूत हुने बताएका छन् ।
अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा गान्धी जयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले यहाँ आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गान्धीले शान्ति अहिंसाको मार्गबाट समाजलाई परिवर्तन गर्नुभए पनि राष्ट्रिय आवश्यकता र समाजको चाहनाले राजनीतिमा हिंसाको प्रयोग भए त्यसले अन्ततः शान्तिको मार्गमा नै डोहो¥याउने बताए ।
आफू र स्व गिरिजाप्रसाद कोइरालाले मुलुकको हित र चाहनालाई आत्मसात् गर्दै १२ बुँदे सहमति, शान्ति सम्झौतामार्फत मुलुकलाई शान्तिको मार्गमा डोहो¥याएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने “मुलुकको हितका लागि हामीले गरेको प्रयास र प्रयत्नलाई लेखक तथा पत्रकारले विष्लेषण गरेर विश्व समुदायलाई जानकारी गराउनुपर्दछ ।”
उनले शान्ति र संविधानको मार्गबाट मुलुक अगाडि बढेको र त्यसलाई समृद्ध पार्न सबैको साथ र सहयोगको जरुरी रहेको आवश्यकता आँैल्याए। उनले भने , “संविधानको सर्वस्वीकार्यता बढाउन र त्यसको अपनत्व बढाउनका लागि सरकार प्रयत्नशील छ । राजनीतिक दल त्यसमा इमान्दार भएर लाग्नुपर्दछ । गिरिजाप्रसाद कोइराला र मैले सुरु गरेको शान्तिको मार्गलाई फराकिलो बनाएर मुलुकलाई समृद्ध र स्थिर बनाउनु आजको आवश्यकता हो ।”
राजनीतिक दल र सरोकार भएका पक्षले ध्यान नदिने हो भने शान्ति र संविधानको प्रक्रिया धरापमा पर्नसक्ने भन्दै उनले मुलुकको विशिष्ठता र आवश्यकतालाई ख्याल गरेर अगाडि बढ्न र सकारात्मक सहयोग गर्न आग्रह गरे ।
प्रधानमन्त्रीले गान्धीवाद र माओवादको संष्लेषण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै भने , “नेपालमा दुवै खालको विचारको नयाँ प्रयोग भएको छ । विष्लेषक, पत्रकार तथा लेखकले त्यसलाई सैद्धान्तिकीकरण गरेर विश्व समुदायलाई सन्देश दिनुपर्दछ ।”
उनले नेपालको विशिष्ठ र मौलिक प्रकारको शान्ति प्रक्रियाले समग्र दक्षिण एसियालाई प्रभाव पारेको भन्दै मुलुकमा भएको ऐतिहासिक प्रयोगबाट विश्व समुदायले शिक्षा लिनसक्नेछ बताए।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई सर्वस्वीकार्य बनाएर मुलुकलाई समृद्ध बनाउनु प्रमुख आवश्यकता रहेको भन्दै प्रधानमन्त्रीले नेपालमात्रको हितका खातिर सबै लाग्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस र आफ्नो पार्टीले सुरु गरेको शान्ति र संविधानको मार्गलाई पूर्णता दिन आफूहरु लागिपरेको र सोही दिशामा सबैलाई डोहो¥याएर अगाडि लैजाने प्रधानमन्त्रीको भनाइ थियो ।
कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले शान्ति र अहिंसाको मार्गबाट नै मुलुकलाई अगाडि बढाउन सकिने बताए। भारत, दक्षिण एसियालगायत विश्व नै अशान्ति र अहिंसाको चपेटामा परेको भन्दै उनले नेपालबाटै विश्व समुदायलाई सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए।
उनले आफ्नो पार्टीले पनि विगतमा हतियारको राजनीति गरेको स्पष्ट पार्दै अशान्ति र अहिंसाबाट भन्दा शान्तिपूर्ण मार्गबाटै समाज र मुलुकको परिवर्तन गर्न सकिने धारणा दिए ।