काठमाडौं, १ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएको सर्वोच अदालतको टोली खालिहात फर्किएको छ ।
म्याद टाँस्न गएको टोलीलाई कार्कीको घरमा आफुलाई सामसुङका कर्मचारी बताउने केहि व्यक्तिहरुले अवरोध गरेका छन् ।
कार्कीको नयाँवानेश्वर स्थित घरमा पुगेको टोलीलाई केही व्यक्तिहरुले आफुहरुले कार्कीको घर भाडामा लिएकाले म्याद टाँस्न नदिने भन्दै अवरोध गरेका हुन् । केहिबेरको बादविवाद पछि सर्वोच्चको तामेलदार नेतृत्वको टोली म्याद नटाँसी खालि हात फर्किएको हो । टोलीले म्याद टाँस्दा रोहवरका लागि आउने बताएकी वडा सचिव सरिता राई पनि शंकास्पद रुपमा अनुपस्थित रहेको श्रोतले बताएको छ ।
उनले अन्तिम अवस्थामा आउन नसक्ने जनाएकी थिइन् । कार्कीको नियुक्तिसम्बन्धि मुद्धामा सुनुवाइका लागि अदालत आउन नमानेपछि सर्वोच्चको टोली जानकारीका लागि उनको घरमा म्याद टाँस्न पुगेको हो । यस सहित सर्वोच्चको टोली दोश्रो पटक कार्कीको घरमा म्याद टाँस्न असफल भएको छ ।