पर्सा, १९ कात्तिक । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले देशमा समानान्तर सत्ता चलाई संविधानलाई असफल पार्ने खेलमा लागेका कारण महाभियोग प्रस्ताव ल्याएको बताएका छन् ।
प्रेस चौतारी नेपाल पर्साले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले सात दशकको लामो सङ्घर्ष र हजारौँ नेपालीको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई असफल बनाएर आफैँ प्रधानमन्त्री हुने लोकमानसिंह कार्कीको सपनालाई एमालेले ल्याएको महाअभियोग प्रस्तावले तुहाएको दाबी गरेका छन् ।
एमाले पार्टी प्रवक्ता समेत रहेका भट्टराईले संविधान संशोधन र लोकमान प्रकरण छुट्टाछुट्टै विषय भएकाले दुबै मुद्दालाई नमिसाउन (माओवादी केन्द्र) र काँग्रेसलाई आग्रह समेत गरे ।
उनले एमालेको सहयोग÷सर्मथन बिना संंविधान संशोधन सम्भवनै नभएको र संविधान संशोधनबारे माओवादी केन्द्र वा काँग्रेसले एमालेसँग औपचारिक तथा अनौपचारिक रुपमा कुनै कुरा नै नगरेको आरोप लगाएका छन् ।
संविधान संशोधनको विषयमा एमाले पार्टी मधेसवादी दलसँग छलफल गर्न तयार रहेको भट्टराईले जनाए ।
वर्तमान संसदीय निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत आउने सम्भावना नरहेकाले र बहुमतको अभावमा हुने सत्ता परिवर्तनले राष्ट्र विकासमा ठूलो नकारात्मक प्रभाव पर्ने भएकाले अब कार्यकारी राष्ट्र प्रमुखको प्रत्यक्ष निर्वाचन नेपालमा आवश्यक रहेको सचिव भट्टराईले दाबी गरे ।