काठमाडौँ, २९ कात्तिक । स्वास्थ्य मन्त्रालयले आज काठमाडौँ र ललितपुर जिल्लामा सञ्चालित पाँच स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरेको छ ।
मन्त्रालयको नेतृत्वमा गएको अनुगमन टोलीले सरकारको स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० अनुसार दर्ता प्रक्रिया पूरा नगरेको पाइएपछि ती क्लिनिकमा सिलबन्दी गरिएको चिकित्सा सेवा महाशाखाका निर्देशक डा भोलाराम श्रेष्ठले जानकारी दिए ।
अनुगमन टोलीले काठमाडाँैका चार र ललितपुरका एक स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरेको हो । काठमाडौँका मिनभवनस्थित जागरण क्लिनिक, एसआरडी डाइनोस्टिक, कोटेश्वरस्थित लोकसेवा डेन्टल, अपि डेन्टल र ललितपुरको जावलाखेलस्थित गुह्येश्वरी डेन्टल क्लिनिकमा छापा मारी सिलबन्दी लगाएको छ ।
मन्त्रालयले विभिन्न अस्पताल, मेडिकल एवम् डेन्टल क्लिनिकमा जनस्वास्थ्यमा दर्ता र नवीकरण भए÷नभएको जाँचगर्ने क्रममा ललितपुरको लेजर थेरापी क्लिनिक बिनादर्ता सञ्चालन भएको पाइए पनि त्यसलाई भने प्रक्रियामा आउन भन्दै तीन दिनको समय दिएको छ ।
निर्देशक डा श्रेष्ठको नेतृत्वमा औषधि व्यवस्था विभाग, जनस्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालयसहितको टोलीले काठमाडौँका १७ र ललितपुरका १७ वटा मेडिकल, आँखा एवम् डेन्टल क्लिनिकमा अनुगमन गरेको थियो ।
निर्देशक डा श्रेष्ठले अस्पताल एवम् क्लिनिकको दर्ता प्रक्रिया, अस्पतालले विपन्नलाई १० प्रतिशत निःशुल्क उपचार व्यवस्था कार्यान्वयन गरे÷नगरेको र कार्यान्वयनका लागि निर्देशन दिन अनुगमन गरिएको बताए ।
अस्पतालले विपन्न नागरिकलाई छुट्याएको सहुलियत उपचार कडाइका साथ कार्यान्वयन गर्न र उपचार पाएकाको नामावली सबैले देख्नेगरी टाँस्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।