विश्वकै सबैभन्दा ठूलो नेपाली भाषाका ग्रन्थहरु सुरक्षित रहेको पुस्तकालय । यस्तो पुस्तकालय बाँसका घोंचाहरुले जेलेर, अड्याएर पूनर्निर्माण भैरहेको छ भन्ने सुन्दा धेरैलाई अचम्म लाग्ला ।
अरु देशका विशाल पुस्तकालयहरु देख्नेलाई झनै अचम्म लाग्न सक्छ, मदन पुरस्कार पुस्तकालय बाँसका घोँचाहरुले बन्दै गरेको थाह पाउँदा । गतसाल गएको भूकम्पले यो पुस्तकालयलाईपनि क्षती पुर्याएपछि अहिले धमाधम बाँसका घोँचाहरुले अड्याएर यो पुस्तकालय बनिरहेको हो ।
मदन पुरस्कार पुस्तकालयमा हाल करिब ३७ हजार नेपाली भाषाका ग्रन्थ छन् । यति धेरै विश्वमा अन्यत्र कहिँ छैन । गोर्खा पत्रको पहिलो अंकपनि नेपालमा यहिं मात्र सुरक्षित छ । नेपाली भाषाका करिब पाँच हजार पत्रपत्रिका सुचिक्रित भएका छन् ।
राणाकालमै बनेको यो पुस्तकालयको भवन भत्कियो । वर्षौं देखि कमलमणि दिक्षित परिवारले मेहनत गरेर जोगाएको, संकलित पुस्तक र ग्रन्थ छ्याल्लबिल्ल भए । हाल ति पुस्तक र ग्रन्थहरुलाई सुरक्षित राख्न फेरि जिर्णोद्दारको काम चलिरहेको छ ।
वर्षौं पुरानो, ईट्टाले बनेको भवन त भत्कियो बाँस नाथे के रहला कसरि थाम्ला भन्ने लाग्न सक्छ । तर त्यो भ्रम रहेछ । विशेषज्ञहरुले बाँस अति बलियो, वर्षौंवर्ष टिक्ने पुष्टि गरेका छन् । यसमा अनुसन्धान भएको छ, नेपालमै । बाँस नटिक्ने एउटै कारण छ, यसमा किरा लाग्छ । तर किरा नलाग्ने किटनाशक औषधीले पेन्ट गरिदिएपछि बाँस कहिल्यै केहि हुन्न । अनुसन्धानकर्मीहरुको सुझावमा मदन पुरस्कार पुस्तकालयले यो पहल गरेको हो ।
धेरैमा के भ्रम रहेको छ भने यस पुस्तकालयमा बसेर अध्ययन गर्न पाइन्न । बजारमा चलेका, सजिलै पाइने पुस्तक, पत्रपत्रिका पढ्न नजा उन्, यसले दखल नपुर्याओस, थप कर्मचारी र ब्यवस्थापनको भार नपरोस भन्ने चाहना मदन पुरस्कार पुस्तकालय ब्यवस्थापनको हो ।
यो जायजपनि हो । पुराना ग्रन्थ, बजारमा सजिलै नपाइने पुस्तकहरु अध्ययन गर्न र खासगरि सोध तथा अनुसन्धान गर्नेहरुले यसमा भएका ग्रन्थहरुको फाईदा लिउन् भन्ने आग्रह, बुझाइ ब्यवस्थापनको छ । किनभने यो पुस्तकालय निजि तवरले ब्यवस्थापन गरिएको छ । सजिलै पाइने पुस्तक पढ्नपनि जान थालेमा ब्यवस्थापन गर्नै खर्चिलो र झन्झट हुन्छ ।
सरकारले पछिल्लो समयमा थोरै मात्र सहयोग दिन थालेको छ । अधिकांश खर्च मदन पुरस्कार पुस्तकालयलेनै ब्यहोर्छ । सरकारले नसकेका यस्ता दूर्लभ ग्रन्थहरुको संकलन वर्षौंदेखि गर्नु पक्कैपनि गाह्रो, खर्चिलो र ब्यवस्थापनका हिसाबले कठिन काम हो ।
त्यसैले, यदि तपाई दूर्लभ ग्रन्थको खोजिमा हुनुहुन्छ, सोधखोज गर्दै हुनुहुन्छ र अन्यत्र त्यस्ता सन्दर्भसामाग्रि पाउनुभएन भए मदन पुरस्कार पुस्तकालयमा निर्धक्कले जानुभए हुन्छ ।