धनगढी, ९ मङ्सिर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०बाट सम्बन्धन नलिई इन्स्टिच्यूट सञ्चालन गरी ठगी गर्ने यहाँका एक सञ्चालकविरुद्ध आज ठगी मुद्दा दर्ता गरिएको छ ।
‘धनगढी मल्टी इन्स्टिच्युट अफ टेक्नोलोजी प्रालि‘ नाम राखेर स्थानीय क्याम्पस चोकमा सञ्चालनमा आएको उक्त इन्स्टिच्यूटका सञ्चालक राजाराम चौधरीविरुद्ध ठगी मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दिलीप भण्डारीले बताए ।
अभिभावक र इन्स्टिच्युटका विद्यार्थीले दिएको उजुरीका आधारमा उनीविरुद्ध ठगी मुद्दा दर्ता गरिएको भण्डारीले बताए ।
सिटिइभिटीबाट मान्यता प्राप्त भन्दै उक्त प्रालिले १५ महिने भेटेनरी जेटिए, कृषि जेटिए र जुनियर कम्प्युटर आइटी पढाउने नाममा ११० जनाभन्दा बढी विद्यार्थीबाट रु ५० लाखभन्दा बढी ठगी गरेको पीडित विद्यार्थीहरुले बताए ।
मान्यता प्राप्त नभएको र आफूहरु ठगिएको थाहा पाएपछि इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरुले बुधवार इन्स्टिच्युट सञ्चालक चौधरीलाई प्रशासनसमक्ष बुझाएपछि प्रहरीले बुधबारै उनलाई नियन्त्रणमा लिएको थियो ।
उक्त इन्स्टिच्युटमा सुदूरपश्चिमका विभिन्न जिल्लावाट एसएलसी उत्तिर्ण गरेर आएका ११० जना भन्दा बढी विद्यार्थी भर्ना भएका थिए । पन्ध्र महिने उक्त कोर्ष अध्ययनका लागि जम्मा रु ८० हजार तोकिएकोमा अहिलेसम्म जनही रु ५० हजार बुझाइसकेको विद्यार्थीहरुले बताए |