काठमाडौँ, १४ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको अन्तिम तयारी भइरहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको नेकपा ९माओवादी केन्द्र०को पोलिटब्युरोको बैठकलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष दाहालले सकेसम्म आजै मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव पारित गर्ने जानकारी दिए। प्रधानमन्त्रीले भने – “संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने र सबै पक्षलाई मिलाएर संविधानको सर्वस्वीकार्यता बढाउनेतर्फ सरकार लागिपरेको छ ।’’
बैठकमा उनले संविधान संशोधनबारे दलबीच हालसम्म भएको प्रयास र छलफलका बारेमा समेत पोलिटब्युरो सदस्यलाई जानकारी गराएका नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले मुलुकलाई लामो समयसम्म अड्काएर राख्न नसकिने भन्दै छिट्टै निकास दिने बताएका थिए। बैठकका निर्णयबारे जानकारी दिँदै नेता सापकोटाले भने– “आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षले संविधान संशोधनकै विषयमा भएका प्रगतिबारे जानकारी गराए । सोमबार राष्ट्रपतिसँगको छलफलले सकारात्मक वातावरण बनेको छ । बैठकले संविधान संशोधनबारे राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णयसमेत गरेको छ ।”
मुलुकलाई अप्ठ्यारोमा पार्ने र संविधान कार्यान्वयन हुन नदिने प्रवृत्तिका विरुद्ध पार्टीले एक मतले प्रतिवाद गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले सरकारमा रहेका सहयात्री दलसँग पनि औपचारिक तथा अनौपचारिक छलफल भएको जानकारी गराएका थिए ।
बैठकमा धारणा राख्ने पोलिटब्युरो सदस्यले पार्टी सङ्गठन सुदृढीकरणमा ध्यान दिनुपर्ने, जनस्तरसम्म पार्टीलाई विस्तार गर्नुपर्ने र त्यसका लागि तीनमहिने कार्ययोजना बनाउनुपर्ने बताएका थिए। बैठकमा अध्यक्ष दाहालले पेस गरेको संविधान संशोधन, तीनमहिने पार्टी कार्ययोजनालगायत विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । बैठक बुधबार पुनः बस्नेछ ।