दाङ १६ मङ्सिर । साहित्यकार तथा समाजसेवी नित्यानन्द शर्माको निधन भएको छ ।
बुधबार राति उनको आफ्नै निवासमा निधन भएको हो । ६४ वर्षीय उनी क्यान्सर रोगबाट पीडित थिए । शर्मा राप्ती अञ्चलको पहिलो कथाकारका रुपमा पनि परिचित छन् ।
दर्जन बढी पुस्तक प्रकाशन गरेका उनले रोगसँग लडिरहेको समयमा पनि बालगीत सङ्ग्रह प्रकाशन गरेका थिए । रेडियो नेपालको बाल कार्यक्रम बज्ने अत्यन्त लोकप्रिय गीत ‘जुन मामा।।।। जुन मामा।।।’ का रचनाकार उनी राष्ट्रिय तथा स्थानीय सङ्घ संस्थाबाट पचासौ पटक सम्मानित तथा पुरस्कृत भएका थिए ।
पञ्चायती व्यवस्थाविरुद्ध बोलेका कारण अञ्चलाधीश कार्यालयमा तारिक समेत बोकेका उनी विधिको शासनको वकालत गर्ने त्रिभुवन नगर जेसीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष पनि थिए । घोराही–५ अम्बापुर स्थायी ठेगाना भएका उनका श्रीमती, ६ छोरी र एक छोरा छन् ।