काठमाडौँ, १७ मङ्सिर । विगत चारवर्षदेखि निरन्तर शैक्षिक एवम् सामाजिक क्षेत्रमा काम गर्दै आएको कुण्डला भूपूविद्यार्थी समाजको अभियानमा कमलबहादुर तामाङले रु एक लाख सहयोग गरेका छन् ।
संस्थाका सदस्य, व्यवसायी एवम् समाजसेवी नुवाकोट जिल्ला महाकाली–१, महादेवटार निवासी तामाङले संस्थाको अक्षयकोष स्थापनार्थ उक्त रकम प्रदान गरेका हुन् ।
उनले पु¥याएका सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै संस्थाले यस अभियानलाई निरन्तररुपमा अगाडि बढाउँदै लैजाने निर्णय गरेको संस्थाका कोषाध्यक्ष भीमबहादुर तामाङले जानकारी दिए ।
उनबाट प्राप्त रकम विविध शैक्षिक एवम् सामाजिक गतिविधि सञ्चालनमा सहयोग पु¥याउन अक्षयकोष स्थापनार्थ ‘सिडमनी’का रुपमा ग्रहण गरिएको कोषाध्यक्ष तामाङले बताए ।
विशुद्ध सामाजिक एवम् शैक्षिक कार्यमा योगदान पु¥याउने उद्देश्यले स्थापना हुन लागेको अक्षयकोषमा रकम वृद्धि गराउन सबैको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गर्दै संस्थाले प्रेरणादायी र सराहनीय कार्यमा लामबद्ध हुन सम्पूर्ण भूपूविद्यार्थीमा आह्वान गरेको छ ।
शैक्षिक गुणस्तर खस्कँदै जाँदा यस जिल्लाका सामुदायिक विद्यालय बन्द हुने क्रम बढ्नुको साथै त्यस विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले समाजले शैक्षिक गुणस्तर सुधारका लागि अभियान चलाउँदै आएको छ ।
उक्त संस्था नुवाकोट जिल्लाको भद्रुटार–१ स्थित कुण्डला उच्च माध्यमिक विद्यालयका भूपूविद्यार्थीको सक्रियतामा गठन गरिएको हो ।