काठमाण्डौ, मंसिर २५
दक्षिण एसियामै नमुना बनाउने उद्देश्य साथ थालिएको काठमाडौं भ्यु टावर निर्माण कार्य अलपत्र परेको छ। साउनमै निर्माण कार्यादेश दिइसकेको भए पनि भ्यु टावर निर्माण रोकिएकोबारे महानगरपालिकाले अनविज्ञझैं गरेको छ। महानरपालिकाले न्युरोड, सुन्धारा र पुरानो बसपार्कको पार्किङ धान्ने गरी ०६८ देखि नै भ्यु टावरको प्रारम्भिक प्रस्तावना गरेको हो। तर, अख्तियारमा उजुरी परेपछि काम रोकिएको थियो। सुरुमा १ अर्ब ८० करोड रुपैयाँ भनिए पनि त्यसको ४ वर्षपछि लागत बढेर ४ अर्ब पुगेको छ।
स्थानीयवासी र त्यस क्षेत्रका सांसद भीमसेनदास प्रधानले विरोध गरेपछि केही महिनाअघि निर्माण कार्य रोकिएको थियो ।खाली स्थानको अभाव रहेकाले घना बस्तीमा भ्यु टावर निर्माण रोकिनुपर्ने माग गर्दै स्थानीयवासीले कात्तिकमा महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए।
ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले पनि भ्यु टावर निर्माणको काम अगाडि बढाएको छैन। महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘सुरु नै भाएको छैन । ठेकेदारले के गर्दै छन्, थाहा छैन।’
पब्लिक प्राइभेट पार्टनरसिप प्रणालीमा भ्यु टावर बनाउन भन्दै पुरानो बसपार्क टुँडिखेलको खुलामञ्चमा सारिएको ८ महिना पुगेको छ। पुरानो बसपार्कको २३ रोपनी ५ आना जग्गामा महानगरपालिकाले अत्याधुनिक सुविधा सम्पन्न बसपार्क निर्माण गर्ने लक्ष्य छ। जहाँ सपिङ सेन्टर, बस तथा मोटरसाइकल पार्क, सिनेमा हल, डिस्को, स्विमिङ पुलदेखि सुविधा सम्पन्न होटल र रेस्टुरेन्टसमेत रहनेछन्।
यता, महानगरपालिकाका सूचना अधिकृत महेश काफ्लेले सामान लिन ठेकेदार बाहिर गएको दाबी गरे। ‘सामान लिन भारत गएका ठेकेदार २र४ दिनमा आउँछन्,’ उनले भने, ‘त्यसपछि काम निरन्तर चल्यो भने तोकिएको समयमै निर्माण कार्य सकिन्छ।’ ठेकेदार कम्पनीले आर्थिक स्रोत जुटाउन नसक्नु पनि काम रोकिनुको कारण भएको बताइन्छ। आजको कान्तिपुरमा खबर छ।
सुरुमा १२ तलाको र पछि २९ तलासम्मको टावर बनाउने योजना राखिएको छ । २०७२ कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले टावरको शिलान्यास गरेका थिए। भ्यु टावर २०७५ फागुनसम्ममा बनाइसक्नुपर्ने ठेकेदारसँगको सम्झौतामा उल्लेख छ। ठेकेदार कम्पनीले ३० वर्षसम्म सञ्चालन गरेपछि उक्त टावर स्वतः महानगरपालिकाको स्वामित्वमा आउने सम्झौतामा लेखिएको छ।