कारागारमा रहेका अभिभावकका बालबालिकाको शिक्षादिक्षाको क्षेत्रमा काम गर्दै आएकी समाजसेवी पुष्पा बस्नेतले ‘सिएनएन सुपर हिरो अवार्ड ’ हात पार्न सफल भएकी छन्। नेपालकी बस्नेतले यसअघिका चार सिएनएन हिरोलाई पछि पार्दै सुपर हिरो अवार्ड हात पारेकी हुन्। बस्नेतले अवार्डसँगै ५० हजार डलर पुरस्कार पाएकी छन्।
सिएनएन सुपर हिरोका लागि नेपालकी बस्नेतसहित पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए। सुपर हिरोका लागि नेपालकी बस्नेतसँगै फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, अमेरिकाका चाड प्रेग्राके, अमेरिकाको लस एन्जल्सकी लिज म्याककारट्नी र इन्डोनेशियाकी रोबिन लिम मनोनयनमा परेका थिए।
कारागारमा रहेका अभिभावकका बालबालिकालाई काठमाडौंको बुढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादिक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेकोमा सिएनएनले बस्नेतलाई सन् २०१२ मा ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको थियो। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदन गर्न गरेको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सुपर हिरो अवार्ड प्रदान गरेको हो। सिएनएनले नेपाली समय अनुसार आज विहान एक विशेष कार्यक्रमका बिच बस्नेतलाई सुपर हिरो घोषित गरेको हो।