काभ्रे, मंसिर २९
काभ्रे सानो बाङथलीकी लक्ष्मी परियारको हत्या आरोपमा प्रहरीले उनका श्रीमान्सहित चारजनाविरुद्ध ज्यान मुद्दा अघि बढाएको छ। बोक्सीको आरोप लगाउँदै स्कुलको पोलमा बाँधेर मानव मलमूत्र खुवाउँदै कुटपिट गर्ने स्थानीय शिक्षक हीरा लामा, उनकी आमा काइँलीमाया लामा, सोही गाउँकी निरमाया तामाङ र लक्ष्मीका श्रीमान् मिलनलाई अदालतमा पेस गरी थुनामा राख्ने म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।
स्थानीय महिला निरमायाले लक्ष्मीलाई बाँध्न डोरी दिँदै हीरा लामालाई सहयोग गरेकी थिइन्। मिलनले आफूले श्रीमतीलाई कुटेको स्विकारेका छन् । हत्यामा चारजनाको संलग्नता पुष्टि भएकाले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सहकुल थापाले बताए।
कारबाहीको माग गर्दे राजधानीमा प्रदर्शन
बोक्सीको आरोपमा लक्ष्मीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । माइतीघर मण्डलामा युवा–युवतीहरूले प्लेकार्ड बोकेर कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। युथ एड्भोकेसी नेपाल नामक संस्थाको अगुवाइमा भएको प्रदर्शनमा बोक्सी आरोपमा मलमूत्र खुवाएको घटनामा मिलापत्र गर्ने प्रहरीलाई समेत कारबाहीको माग गरिएको खबर आज नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।
‘जातीय छुवाछुत अन्त्य गरौँ, ‘बोक्सीको आरोप लगाउनु अपराध हो’, ‘पीडितलाई क्षतिपूर्ति प्रदान गर’ जस्ता नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका हुन्।