१४,पुस,काठमाडौं। बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केका जंगली हात्तीको हुल बुधबार बिहान साढे ७ बजेतिर मनाउ ५ प्रसेनीपुर बजार पस्यो । दर्जनजति संख्याका हात्तीले स्थानीयलाई जथाभावी आक्रमण गर्न थालेपछि भागदौड मच्चियो । आजको कान्तिपुरमा खबर छ– आक्रमणमा ३१ वर्षीया विमला विकको घटनास्थलमै मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते रहेको प्रहरीले जनायो । स्थानीय गणेश माविमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय दिनेशसिंह ठकुरी र ५७ वर्षीय रामप्रसाद लामिछाने घाइते भएका छन् । गुलरिया अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई कोहलपुर शिक्षण अस्पताल, बाँके पठाइएको छ । हात्तीले ५० भन्दा बढी घर र पसल रहेको प्रसेनीपुरमा सातवटा कच्ची घर भत्काइदिएको छ । आक्रमणमा ३ गोरु, १ गाई र २ वटा राँगा मारिएका छन् । हात्तीले गणेश माविको मूलद्वारा र टिनको छाना पनि भत्काइदिएको छ । बाक्लो हुस्सुको कारण हात्ती नजिक आइसकेपछि मात्रै देखिएकाले ठूलो क्षति भएको स्थानीय रामसिंह थारुले बताए । घटनास्थल पुगेको नेपाली सेनाले हात्ती धपाउन एक दर्जनभन्दा बढी हवाई फायर गरेको थियो ।