पुस, सप्तरी । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमालेलाई तराई–मधेसमुक्त बनाउन गाउँ–गाउँमा विदाई कार्यक्रम गर्न जनताहरु जुटिसकेको दाबी गरेका छन् । प्रेस मञ्च सप्तरीद्वारा मंगलबार राजविराजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महतोले भने, ‘ एमालेलाई मधेस चाहिएको छैन,त्यसैले ब्याण्ड बाजा बजाएर एमालेको विदाई आयोजना गरिनुपर्छ ।’
आफ्नो विदाई भइरहेको खबर थाहा पाएपछि एमाले ठीक ठाउँमा आउने र संविधान संशोधनमा तत्परता देखाउने महतोको दावी छ ।
एमालेले संशोधन विधेयकमा छलफल रोक्ने गरी आएको संसद अवरोध गैरलोकतान्त्रिक भएको बताउँदै मधेसी मोर्चाका नेता महतोले एमालेले संघीयता धरापमा पार्दै संविधान कार्यान्वयन हुन नदिने योजनामा रहेको बताए ।
मुख्य तीन दललाई अधिकार लुटेको डाँकाको संज्ञा दिँदै उनले ती मध्ये कांग्रेस र माओवादी लुटिएको अधिकार दिन तयार भएपनि एमाले दिन नचाहेर ठूलो डाँका बनेको आरोप लगाए ।
मुलुकमा संविधान कार्यान्वयन अति आवश्यक रहेको बताउँदै उनले संशोधन बिना कार्यान्वयन हुनै नसक्ने बताए । उनले संविधान कार्यान्वयनका लागि भएपनि संशोधन प्रकृयालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।