२७,माघ,काठमाडौं । अन्ततः नेपाल प्रहरीको २५ औ महानिरिक्षकमा लागु औषध व्युरोका प्रमुख डिआईजि जयबहादुर चन्दलाई बनाउने निश्चित भएको छ । यसका लागि प्रधानमन्त्री प्रचण्ड,काँग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधीबिच समेत सहमती भइसकेको वालुवाटार स्रोतले जनाएको छ ।
यसअघि नै माओवादी केन्द्रले शसस्त्र प्रहरीको प्रमुख र नेपाली काँग्रेसले नेपाल प्रहरीको प्रमुख लिने भागवण्डा भइसकेको थियो । यस्तै बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृह मन्त्री विमलेन्द्र निधिबीच पनि चन्दलाई भावि महानिरिक्षक बनाउने सहमति भएको हो । यसअघि निधिले अर्का डिआईजि नवराज सिलवाललाई महानिरिक्षक बनाउने अडान राखेपनि बुधबार चन्दलाई बनाउने सहमति भएको हो । स्रोतका अनुसार आज वा भोली हुने मन्त्रिपरिषद बैठकमा चन्दलाई महानिरिक्षक बनाउने निर्णय गर्ने तयारी छ ।
नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याल आगामी फागुन २ देखि अनिवार्य अवकाश हुने छन् । अर्यालसँगै अहिले वहाल रहेका १३ जनै एआईजिपीहरु पनि अवकाश हुने भएकाले महानिरिक्षकमा डिआईजिबाट बनाउनु पर्ने भएको हो ।
नेपाल प्रहरीमा फिल्डमा खटेर सक्रिय रुपमा काम गर्न खप्पीस चन्द २०४४ चैत २९ गते प्रहरी निरिक्षकको रुपमा सेवा प्रवेश गरेका थिए । विकट पहाडी जिल्ला बैतडीमा जन्मिएका चन्द यसअघि काठमाडौं प्रहरी प्रमु्ख, पर्सा प्रहरी प्रमुख, पर्वत प्रहरी प्रमुख लगायत महत्वपूर्ण जिल्लाको नेतृत्व सफलतापूर्वक हाकिसकेका छन् ।
चन्द नेपाल प्रहरीभित्र ‘पोलिसिङ’मा सबैले मनपराएका व्यक्ति हुन् । प्रहरी संगठन संचालनमा उनलाई अब्वल प्रहरी अफिसरका रुपमा लिइन्छ । महानिरिक्षकका लागि नवराज सिलवाल, प्रकाश अर्याल र बमहादुर भण्डारी पनि दावेदार थिए । तर सरकार कार्यक्षमताको आधारमा चन्दलाई महानिरिक्षक बनाउने निष्कर्षमा पुगेको हो ।
को हुन जयबहादुर चन्द ?
प्रहरी संगठनमा सफल नेतृत्वका रुपमा स्थापित डिआइजी जयबहादुर चन्द हाल लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख हुन । डिआईजी चन्दसँग राजनीतिक, प्रशासनिक र सांगठानिक रुपमा सन्तुलन मिलाउन सक्ने क्षमता रहेको प्रहरीकै अधिकारीहरुको दाबी छ । त्यसकारण उनी स्वभाविक रुपमा आईजीपीका बलिया दावेदार रहेको प्रहरी अधिकारीहरु बताउँछन् । संगठनमा उनले हालसम्म गरेका गुण र अवगुण छुट्याउने हो भने एकाध सञ्चार माध्यममा विरोधी समाचार आएपनि कहिं कतै अवगुण भेटिदैनन् । उनलाई आइजिपी बन्नबाट रोक्नका लागि केही तस्कर र माफियाहरुले करोडौंको आर्थिक चलखेल शुरु गरेको पनि चर्चा चलेको थियो ।
डिआइजी चन्दका बहुचर्चित ‘अप्रेसन’
डिआइजी जयबहादुर चन्दले लागु औषध कारोबारीहरुको अन्तराष्ट्रिय संजाल ध्वस्त पारेपछि उनले त्यत्तिकै चर्चा पाइरहेका छन् ।
डिआइजी चन्दले ब्युरोको कमाण्ड समालेपछि करिब ५ करोड ४० लाख मूल्य बराबरको लागु औषध कोकिनसहित ठमेल क्षेत्रपाटीबाट साउथ अफ्रिकन नागरिक मपाथोनी मस्ने र भारत नागाल्याण्ड घर भएकी महिला मेर्सी पक्राउ परे । प्रतिष्ठित व्यवसायी भनेर चिनिने पवन संघाईले औषधी बनाउनमा प्रयोग गर्ने भनेर युरोपियन मुलुकहरुबाट आयात गरेको प्रिकर्सर केमिकल लागु औषध बनाउन भारत र चीनमा तस्करी गर्ने गरेको कुरा अनुसन्धानबाट खुलेपछि चन्दको टोलीले संघाईका बिभिन्न उद्योगहरुमा छापा मारेर केही व्यक्तिहरु सहित करोडौं मूल्य पर्ने उक्त प्रिकर्सर केमिकल बरामद गरेको थियो ।
डिआइजी चन्द काठमाडौं, रौतहट, बिरगंज, कपिलबस्तु, मकवानपुर, काभ्रे जस्ता जिल्लाहरूमा प्रहरी प्रमुखको रुपमा कार्य सम्पादन गरेर कामकै आधारमा आफ्नो पहिचान बनाउन सफल भए । काठमाडौं, भद्रकालीको यात्रु प्रतिक्षालय र बालाजुमा माइक्रोबसमा बम बिष्फोट गराई स्कुले विद्यार्थी लगायतको ज्यान गएको र दर्जनौ घाइते बनाएर काठमाडौंवासीलाई आतंकित तुल्याउने घटनामा संलग्न मिष्टर जोन उपनामले चिनिने कौशल सहनी र उसको एक जना सहयोगीसहितलाई २ जना उनी रौतहट प्रमुख छँदा प्रहरी इनकाउन्टरमा मारिए ।
यो परिघटनाले रौतहटबासी मात्रै हैन काठमाडौं लगायत सबै ठाँउका नेपाली जनताबाट उनले प्रशंसा पाए । रौतहट प्रहरीको कमाण्ड समाल्दा चन्दले रौतहटको शान्ति सुरक्षालाई चुस्तदुरुस्त बनाएको कुरा रौतहटको सदरमुकाम गौरमा मात्र हैन ग्रामिण भेगतिर आजभोलि पनि चर्चा हुने गर्दछ । पर्सा प्रहरी प्रमुखको रुपमा कार्यरत रहँदा बिभिन्न अपराधिक समूहहरुले व्यवसायीहरुलाई चन्दा माग गर्ने, धम्क्याउने गरेको र कति ठाँउमा बिष्फोटक पदार्थ नै पड्काएर आतंकित बनाएपछी उनले अपराधीहको सातो लिए ।
चन्द काठमाडौं प्रहरी प्रमुख रहँदा बस्ती भेटघाट नामक जनताप्रेमी कार्यक्रम ल्याएर काठमाडौंबासीको मन जित्न सफल हुनुका साथै शान्ति,सुरक्षा चुस्तदुरुस्त राखेर कुनै पनि किसिमको अपराधिक घटना घट्न नदिई उच्च व्यवसायिक प्रहरी अधिकृत भएको पुष्टि गरेका थिए । यस्ता दर्जनौं सफल कारवाही गरेर चन्दले आफुलाई क्षमतावान प्रहरी अधिकृत भएको साबित गरे । बिनाशकारी महाभूकम्प र भारतको अघोषित नाकाबन्दीको कठिन परिस्थितिमा महानगरीय ट्राफिक महाशाखा प्रमुखको रुपमा कार्यरत हुँदा चन्दले व्यवसायिक र प्रशंसनीय काम गरेको प्रहरी अधिकारीहरु नै बताउँछन् ।
ट्राफिक प्रहरीलाई बिगतदेखि बोली व्यवहार ठीक नभएको भन्ने आरोपमा सुधार ल्याउन ‘जिब्रोको गरिमा मीठो बोलीमा’ अभियान व्यापक रुपमा संचालन गरेर उपत्यकाबासी माझ ट्राफिक प्रहरीको छविमा सुधार ल्याउनुका साथै ड्यूटीमा जान लागेका ट्राफिक प्रहरीलाई ‘म इमान्दारीपूर्बक काम गर्छु, नियतवश कसैलाई बिगार्दिन’ भन्ने नारा स्मरण गराउने गरे । ट्राफिक महाशाखा प्रमुखकै रुपमा कार्यरत रहँदा ‘सेतो टोपी’ नामक गीति एल्बम ल्याएर ट्राफिक प्रहरीको छवि जनतामाझ सुधार गरे भने अर्कोतिर आफु गीतकार बनेर बौद्धिक प्रहरी अधिकृत भएको समेत सावित गरे ।
सुदूरपश्चिममा क्षेत्रीय प्रहरी प्रमुखको रुपमा कार्यरत रहँदा काठमाडौंमै सुरुवात गरेको ‘बस्ती भेटघाट’ कार्यक्रमलाई निरन्तरता दिए । ९ वटै जिल्लाका गाँउको दुरदराज जहाँ प्रहरी चौकीको जवानसम्म कमै पुग्ने ठाँउहरुमा आफै पुगेर गाँउलेहरुका पीरमर्का सुन्ने र जनता र प्रहरी वीचको सम्बन्ध सुमधुर बनाउने काम उनले गरेका थिए । उनको यो अभियानले सुदूरपश्चिमबासीबाट मात्र नभएर देशका समाजसेवी, बुद्धिजिवीबाट समेत प्रशंसा पायो ।