उमाकान्त शर्मा
महान बैज्ञानिक अल्बर्ट आइस्टाइनले भनेका थिए, – म मेरा बैज्ञानिक प्रयोगहरु गर्दाखेरी सैयौंचोटी यो सोच्छु कि मभन्दा अगाडि जन्मेका महान ब्यक्तित्व र बैज्ञानिकहरुले अझ त्यो भन्दा पनि श्रम गर्ने श्रमिकहरुले कडा श्रम नगरेको भए म कहाँ यत्रो शक्ति प्राप्त गरि मेरो उद्देश्य प्राप्त गर्न सक्थे र । यो सबै उनीहरुको देन हो ।
नेपालमा आज गणतन्त्र दिवस मनाइदैछ । नेपाली गणतन्त्र घोषणा भएको नौ बर्ष पुगेको छ। यो नौ बर्षको अवधिमा नौ वटा सरकार परिवर्तन भए ।नौ दर्जनभन्दा बढी मान्छेहरू मन्त्री बने । नब्बेभन्दा बढि दलहरू गठन भए । यो बिचमा दुई जना जनताका छोराछोरीले राष्ट्र प्रमुख बन्ने अवसर पाए ।गणतान्त्रिक नेपालको उच्च पदमा बसेका ब्यक्तिहरुले कतिपटक सम्झिन्छन तिनिहरुलाई जसको संघर्ष, योगदान र बलिदानका कारण यो देशमा गणतन्त्र आएको छ ।
बि. स. ५० को दशकको सुरुवातीसम्म पनि राजनीतिक ज्योतिषहरुले नेपालको भाग्यरेखामा गणतन्त्रको साइत भेटाएका थिएनन् ।बहुदलीय पार्टीहरु बहुतर्क गर्दै राजदरबारबाट आशीर्वाद थाप्ने लाइनमा बसिरहेका हुन्थे । कांग्रेसको घाटी नै राजासँग जोडिएको कुरा बिपि कोइरालाले उहिल्यै प्रशिक्षित गरिसकेका थिए ।एमाले जबजको चस्मा लगाएर राजतन्त्रको म्युजिकमा प्रजातन्त्रको गितमा नाच्दै थियो । उसको नजरमा गणतन्त्रको परिकल्पना गर्नु बयल गाडा चढेर अमेरिका भ्रमणमा निस्कनु जत्तिकै असान्दर्भिक, असम्भव र अबैज्ञानिक फगत एउटा अमुर्त केटाकेटी योजना थियो ।अरु कतिपय स-साना पार्टी, राजनीतिक बिश्लेषक, मिडिया हाउस, नागरिक समाज कांग्रेस एमालेको गुरुत्वाकर्षणको प्रभावले उनिहरुकै वरिपरि घुमिरहेका थिए ।
तथापि जनता गणतन्त्रको पक्षमा थिए । उनिहरु खुलामञ्चमा गणतन्त्रको पक्षमा भाषणको अपेक्षा गर्दथे । आफूलाई क्रान्तिकारी ठान्ने कम्युनिस्ट नेताहरु राती गणतन्त्रको लागि संकल्प गरेर निदाउँथे ।तर सपनामा राजाले तर्साएपछी भोलि बिहान भेटी चढाउन दरबारमा हाजिर हुन्थे । यति हुदाहुदै पनि गणतन्त्र पक्षधरले आशा मारेका थिएनन् ।एकथरी पार्टी र तिनका नेता, एकथरी लेखक, एकथरी नागरिक समाज, एकथरी पत्रकार, आदि गणतन्त्रको व्यग्र प्रतीक्षामा थिए। तर घरमा चिन्ता र चिन्तन गरेर, पार्टी दस्तावेज वा अन्यत्र कतै लेखेको भरमा राजाले स्वैच्छिक रुपमा गणतन्त्र घोषणा गरिदिने संभावना थिएन । त्यसका लागि बलिदानपूर्ण संघर्षको जरुरत थियो । संघर्षको यात्रा पनि तय भयो ।गन्तव्यतर्फ जाने बाटो असजिलो, चुनौतीपूर्ण र खतरापूर्ण लागेपछि केही मान्छेहरु विभिन्न आवरण र आकृतिका झन्डा बोकेर पछाडि फर्किए ।
संसदको तेस्रो ठूलो शक्ति तत्कालीन जनमोर्चा अनि उसको मातृपार्टी मशालले जनयुद्धमा जाने निर्णय गरेर नेकपा (माओवादी)को गठन गर्यो ।माओवादीलाई सिध्याउन कसैले हप्ता, कसैले महिना दिनको भाका राखेका थिए । बर्ष नै लाग्ने आँकलन त कसैले पनि गरेका रहेनछन् उतिबेला । तर पनि नेताहरूले संकल्प गरे ।प्रचण्ड-किरणहरुले भुमिगत जीवनलाई थप जोखिम, अनिश्चितता र असुरक्षाको कारागारमा बुझाउन तयार भए ।बाबुराम भट्टराईहरुले लाखौंको सम्भावित जागिरलाई तिलन्जाली दिए । बादल-देब गुरुङहरुले आनन्द, सौखिन र आलिशान जीवन जिउने लोभ गरेनन् ।सिपि गजुरेल- कृष्णबहादुर महराहरुले पढेको बिज्ञान कालोपाटीमा हैन रातो झन्डामा अभिब्यक्त गर्ने निर्णय गरे ।पोष्टबहादुर बोगटीहरुले ईमान र नैतिकताको क्रान्तिकारी झोला बोकेर असंख्य पहाडहरुमा उकालीओराली गर्ने निधो गरे ।विप्लव-अनन्तहरुले आफ्ना लागि किनिएका कलम कपि बाकसमा थन्क्याउदै काँधमा बन्दुक बोकेर मार्चपास गर्ने अठोट गरे ।
गणतन्त्रको पक्षमा उभिनेलाई राज्यले आफ्नो जवाफ दियो । माष्टर साबलाई मधेसमा बन्चरोले हानी निर्ममतापुर्वक क्रूर हत्या गरियो ।पासाङलाई रोल्पाको मेलामा गोलि हानियो । गोर्खामा सुरेश वाग्लेलाई अपहरण गरेर हत्या गरियो । कालिकोटका गाउँ देखि जंगलसम्म किलो सेराटु अपरेसनको नाममा जनतामाथी दमन गरियो ।रोल्पा रुकुमका गाउँहरुमा माओवादीका नाउँमा निर्दोष किसानमाथी गोलिको बर्षा भयो । माओवादी र माओवादीसंग सम्पर्क राख्नेहरुलाई आतंककारी घोषणा गरियो ।नेताकार्यकर्ताको टाउकोको मुल्य तोकियो । कृष्ण सेन इच्छुकलाई जेलभित्र अमानवीय यातना दिएर हत्या गरियो । रामेछापको दोरम्बामा कलाकारहरुको निर्मम हत्या भयो ।शिवपुरी जंगलमा दर्जनौं जीउँदा मान्छेलाई पुरियो । कैयौं बेनोज अधिकारी, पुर्ण पौडेल, लेखनाथ न्यौपानेहरुलाई स्कुल, कलेज, क्याम्पस छिर्न निषेध गरियो ।कसैको हत्या भयो, कसैलाई बेपत्ता पारियो , कसैलाई झुटा मुद्दा लगाएर जेल चलान गरियो । यी त केबल प्रतिनिधि घटना हुन् ।यस्ता अनगिन्ती शृङ्खलाहरुको सामना गर्नपर्यो गणतन्त्रको ब्यानर बोक्नेहरुले ।
आज पनि कतिलाई यति मात्रै सम्झना होला कि, २०६५ जेठ १५ गते मध्यरातमा संविधानसभा वा संसदले गणतन्त्र घोषणा गरेको हो ।संसद बैठकमा बजाइएको एक झटका तालिको डर र भरमा गणतन्त्र आएको हैन नेपालमा । त्यसका लागि नेपाली आमाका हजारौं सन्तानले आफ्नो जीवनको बलिदान गरेका छन् ।सधैं पानी बग्ने कोसि, गण्डकी र कर्णालीमा कैयौंपटक रगत बगेको छ । कोइलिको सुमधुर आवाज सुनिने जंगल बन्दुकको आवाजले बर्षौसम्म अशान्त बन्नुपरेको छ ।मिलनका तस्बिर खिचिने चौतारीहरुमा बिछोड र वियोगका कविता लेखिएका छन् । कैयौं घरहरु खाली भएका छन्, बस्तिहरु रित्तिएका छन् ।कैयौं गाउँहरु पुर्णिामाको रातमा पनि औंसीको अध्यारोले ढाकिएका छन् । यी सबैका पछिल्तिर एउटा कारण थियो -कुनै सुन्दर बिहानिको क्षितिजमा गणतान्त्रिक सुर्य उदाउने आशा, कामना र सपना ।
२०६५ जेठ १५ मा उदाएको गणतान्त्रिक सुर्यले एक दशकमा आफ्नो प्रकाश र ताप प्रवाह गर्न सकेको छैन । आकाशमा विभिन्न स्वरुप र प्रकृतिमा सिर्जित कालो बादल मडारिएको छ आज पनि ।साइनबोर्डमा लेखिएको, राज्यका दस्तावेजमा देखिएको गणतन्त्र जनताको घर-आँगन, गाउँ- बस्ती, दैनिक जिवनमा भेटिएको छैन ।राज्यको उपल्लो ओदाहमा आसिनहरुले गणतन्त्रलाई आफ्नो घर परिवार-आफन्तको समारोहभित्र कैद गर्ने प्रयत्न गरेका छन् ।गणतन्त्र दिवसका अवसरमा आफ्नो घरमा बिभुषण बाँडेर खुसियाली मनाइदैछ, मानौं कि बिभुषणहरु नेताको किचेनमा पकाइने कुनै मिठा परिकार हुन् जुन आफन्त इष्टमित्रलाई बोलाएर भोजन गर्नु सामान्य सांस्कृतिक परम्परा हो ।राष्ट्रपति बिदेश भ्रमणमा निस्किदा या फर्किदा गणतन्त्र आएजस्तो लाग्दैन, सार्वजनिक बिदा दिइन्छ ।उपराष्ट्रपति बिमानस्थल पुग्दा गणतन्त्र र राजतन्त्रको भिन्नता छुट्याउन सकिदैन, सर्बसाधारणले घन्टौंसम्म ट्राफिक जाममा बसेर गणतन्त्रप्रति सम्मान व्यक्त गर्नुपर्छ ।प्रधानमन्त्री, मन्त्रीहरूका आचरण एवं क्रियाकलाप त झन पन्चायत भन्दा पनि कमसल जस्ता देखिन्छन् ।न्याय, प्रशासन, सेना, प्रहरी, बिकास, सार्वजनिक सेवा, ब्यापार कुनै क्षेत्रको पनि जनअपेक्षा अनुरुप गणतान्त्रिक फेजमा रुपान्तरण या स्थानान्तरण हुनसकेको छैन ।
गणतन्त्रका लागि लडेकाहरु छिन्नभिन्न भएका छन् । सहिद परिवारले आफ्ना प्रियजनको बलिदानप्रति गर्व गर्न सकिरहेका छैनन् ।जनयुद्धताका बेपत्ता पारिएकाहरु सदाका लागि बेपत्ता भएका छन् । घाइतेको अवस्था नाजुक छ । युद्ध मोर्चामा प्रत्यक्ष सहभागी युवाहरू खाडी मुलुकका मरुभूमिमा पसिना बगाइरहेका छन् ।अझ डरलाग्दो त के छ भने गणतन्त्रका लागि लड्नेहरुलाई अपराधी सिद्ध गर्ने प्रयत्न हुदैछ ।सरकार र बिद्रोहि पक्ष बिच भएको बिस्तृत शान्ति सम्झौतामा द्वन्द्वकालिन मुद्दाहरूको बिषयमा स्पष्ट ब्यबस्था छ ।द्वन्दका क्रममा घटेका घटनालाई साधारण वा नियमित कानुनको अधिनमा ल्याउन नमिल्ने अन्तरास्ट्रिय परम्परा र मान्यता बिपरित बालकृष्ण ढुंगेल लगायतका मुद्दामा सर्बोच्च अदालतले पटकपटक आदेश दिएको छ ।सरकारले आममाफी दिन पाउने कानुनी प्रावधान र सरकारको कार्यक्षेत्र माथी अदालतले हस्तक्षेप गरेको छ ।गणतन्त्रको लागि लडे बापत गणतान्त्रिक शासनमा कैयौं बालकृष्ण ढुंगेलहरुले भुमिगत हुनुपर्ने अर्थात अघोषित निर्वासित जस्तो जीवन जिउनुपर्ने अवस्था सिर्जना हुनु दुखदायि र निन्दनीय हो ।गणतन्त्रका लागि आफ्नो जिवनको प्रवाह नगरी लड्नेहरुले आफ्नो रगत र पसिनाको बलमा ल्याइएको गणतन्त्र दिवस मनाउन नपाउनु भन्दा ठूलो अराजनीतिक, प्रतिगामी र लज्जास्पद कुरा केही हुन सक्दैन ।टुडिंखेलमा आफ्नो जन्म उत्सव मनाइरहेको गणतन्त्रलाई थाहा छ कि छैन कुन्नी, गणतन्त्रका लागि लडेका योद्धाहरु आज कहाँ, कसरी, कस्तो अवस्थामा बसेर हिजोका गणतन्त्र बिरोधीलाई बिभुषित र सम्मानित गरिएको कार्यक्रमको दृश्य प्रत्यक्ष प्रसारण मार्फत हेर्दै होलान भनेर ।
नेपाली कांग्रेसले बि.स. २००७, २०१८ र २०२८ सालमा गरि तीनपटक सशस्त्र संघर्ष गरेको थियो ।बीपी कोइरालाका विरुद्ध राजामाथी बम प्रहार गरेको, विमान अपहरण गरेको र ओखलढुंगा कब्जाका लागि सैन्य कारबाही चलाएको अभियोगमा राजकाजसम्बन्धि ८ ओटा मुद्दा थिए ।२०३३ साल पुस १६ गते मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किने क्रममा काठमाडौं बिमानस्थलमा ओर्लिने बित्तिकै उनलाई पक्राउ गरियो ।बयानका क्रममा बीपीले दिएका उत्तर सान्दर्भिक र महत्त्वपूर्ण छन् । विमान अपहरणबाट लिएको ३० लाख भारु खर्चको बारेमा सोधिएको प्रश्नमा उनको जवाफ थियो -जनताको पैसा जनताले खर्च गरे ।सशस्त्र क्रान्तिसंग जोडिएका मुद्दामा कैयौंलाई मृत्युद्वण्डको सजाय सुनाइएको थियो । बीपीलाई पनि मृत्युदण्ड हुने निश्चित जस्तै थियो ।यहि पेरिफेरिमा बिशेष अदालतको बयानमा बीपीले आफ्नो संलग्नता नरहे पनि पार्टी सभापतिको हैसियतले कांग्रेसका नाममा भएका सबै घटनाको नैतिक जिम्मेवारी लिने बताए ।
जनयुद्धका सुप्रिम कमान्डर प्रचण्डका विरुद्धमा कुनै मुद्दा छैनन् । तर उनको आव्हानमा सशस्त्र संघर्षमा संलग्न कैयौं नेताकार्यकर्ता विरुद्ध आज पनि मुद्दा चलिरहेका छन् ।जनयुद्धमा माओवादीका तर्फबाट भएका घटनाको जिम्मेवारी लिनु नेतृत्वपंक्ति खासगरी प्रचण्डको नैतिक दायित्वको बिषय हो । तर उनले त्यसको घोषणा गर्न सकिराखेका छैनन् ।बरु बालकृष्ण ढुंगेललाई जेल बसेर सहयोग गरिदिनुपर्यो भन्न पछि पर्दैनन् ।प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराईदेखि विप्लवसम्मले जनयुद्धकालिन घटनाको सामुहिक जिम्मेवारी र हिस्सेदारी लिनुपर्छ ।जनयुद्धकै घटनाका कारण सजाय भोग्नुपर्ने अवस्था आउँदा कुनै अमुक नेताकार्यकर्ता हैन मुख्य नेतृत्व जेल जान तयार हुनुपर्छ । बिस्तृत शान्ति सम्झौता बमोजिम सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत जनयुद्धकालिन मुद्दाको सुनुवाइ गर्दै वास्तविक पीडितलाई न्याय दिलाउनुपर्छ ।जबसम्म गणतन्त्रका लागि लड्नेहरु आफुलाई असुरक्षित, अपमानित, सिमान्तकृत र तिरस्कृत भएको महसुस गर्छन् तबसम्म गणतन्त्रको संस्थागत बिकास हुनसक्दैन ।