काठमाडौं, २२ भदौ । एमाले नेता शंकर पोखरेलले मंगलबार गरेको ट्वीटलाई लिएर चौतर्फी आलोचना भएको छ ।
पोखरेलले मंगलबार बिहान मधेसी मोर्चाले संविधान जारी गरेको दिन असोज ३ लाई कालो दिवसका रुपमा सम्झिने निर्णयलाई लिएर गरेको ट्वीटले सामाजिक सञ्जालमा ब्यापक बिरोधको सामना गरेको हो ।
ट्वीटमा पोखरेलले, ‘मधेसी जनता अधिकांश कालोवर्णका छन् । मधेसी मोर्चाले असोज ३ लाई कालो दिवस भनेर त्यहाँका जनताको सम्मान गर्न खोज्या कि अपमान ? बुझ्न गाह्रो भो ।’ लेखेका थिए ।
पोखरेलको ट्वीटलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले ब्यापक आलोचना गरेपछि पोखरेलले ट्वीट ‘डिलिट’ गरेका थिए । हाल सामाजिक सञ्जालहरुमा पोखरेलको ट्वीटको स्क्रीनसट हालेर ब्यापक बिरोध भइरहेको छ । अधिकारकर्मी, लेखक, साहित्कार, पत्रकार, राजनीतिज्ञ र सर्वसाधारणले पोखरेलले मधेसी जनतालाई अपमान गरेको आरोप लगाएका छन् ।
रौतहटमा पोखरेलको पुत्ला दहन
पोखरेलद्वारा गरिएको मधेसी नागरिकमाथिको टिप्पणीलाई लिएर रौतहटमा उनको पुतला दहन गरिएको छ । मधेसी मोर्चाका कार्यकर्ता र स्थानीयको अगुवाइमा पुत्ला दहन गरिएको हो । संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राम निवास यादवले ट्वीटरमा पोखरेलद्वारा प्रयोग गरिएको भाषा मधेसी जनताको भावनामा ठेस पु¥याउने किसिमको भएकाले पुत्ला दहन गरिएको बताए ।
पोखरेलविरुद्ध अदालत जाने तयारीमा युवा संगठन
संघीय समाजवादी फोरम नेपालको युवा संगठनले नेता पोखरेलविरुद्ध अदालत जाने भएको छ । पोखरेलको ट्वीट रंगभेदी भएको आरोप लगाउँदै उजुरीकर्ताको टोली बुधवार उनीविरुद्ध जाहेरी दिन टेकु पुगेको थियो ।
तर प्रहरीले ‘सामान्य केस’ भएको भन्दै जाहेरी लिन अस्विकार गरेपछि टोली परमादेशका लागि अदालत जाने भएको हो ।
अदालतको आदेशपछि प्रहरीले बाध्य भएर उजुरी लिनुपर्ने भन्दै समाजवादी युवा फोरम नेपालका उपमहासचिव दुर्गामणि सुवेदीले साम्प्रदायिकता फैलाउने पोखरेललाई पाँच बर्षको जेल सजाय हुनुपर्ने बताएका छन् ।
पोखरेलको ट्वीटलाई लिएर कस्ले के भने ?
नेता पोखरेलको बिवादित अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले ट्वीट गरेका छन्— ‘आफैंलाई सोधिरहेको छु । राजनीतिज्ञले बोल्नुअघि सोच्नुपर्छ कि बोलिसकेपछि ?’
त्यस्तै नेपाल सद्भावना पार्टीका महासचिव राजिव झाले ट्वीट गरेका छन्—‘शंकर पोखरेलजस्तो गैरजिम्मेवार व्यक्तिलाई मैले केहि भन्नु छैन । । धिक्कार छ गैरजिम्मेवार व्यक्तिलाई नेता मान्ने मधेसीलाई ।’
त्यस्तै बरिष्ठ पत्रकार किशोर नेपालले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन्—‘ट्विट मेट्दैमा मनको मैलो कहाँ मेटिन्छ ? वचन र वाक्यको मर्यादा राखिने भए त राजनीति सुध्रिइ हाल्थ्यो नि ।’
‘रंगभेदलाई प्रोत्साहन दिएको’ भन्दै सामाजिक सञ्जालमा पोखरेलले माफि माग्नुपर्ने आवाज उठिरहेको छ ।