काठमाडौं, २३ भदौ । एस.एल.सी परिक्षाको नतिजा मुल्यांकनका आधारमा ओखलढुंगास्थित बरुणेश्वर उच्च मा.वि. लगातार दोश्रो पटक पूर्वाञ्चल प्रथम भएको छ ।
बरुणेश्वर उच्च मा.वि. क्षेत्रिय स्तरमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत भएको हो । ३७ औं शिक्षा दिवसको अवसरमा राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पुरस्कृत भएको बरुणेश्वरले नगद एक लाख रपैंया साथै क्षेत्रिय सिल्ड र राष्ट्रिय झण्डा प्राप्त गरेको छ । शिक्षामन्त्री डि.आर. पौडेलले विद्यालयका प्रधानाध्यापक कुलप्रसाद खतिवडा र ब्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद दाहाललाई संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक कुलप्रसाद खतिवडाले निरन्तरको मेहनतले बरुणेश्वर लगातार पूर्वाञ्चल प्रथम हुन सफल भएको बताए । ‘हामीले विद्यालयलाई उत्कृष्ट बनाउनका लागि निरन्तर मेहनत र विद्यार्थीमैत्री बातावरण निर्माण गरेका छौं’, उनले भने,‘यहि मेहनतको परिणाम नै हालको नतिजा हो ।’ आगामी दिनमा विद्यालयको पठनपाठनलाई अझ गुणस्तरिय र विद्यार्थीमैत्री बनाउन लागिपर्ने बताउँदै खतिवडाले बरुणेश्वरको छवीलाई कायम राखिने बताए ।