–बिवेक मैनाली
जिन्दगीमा थुप्रै विकल्पहरु थिए । राम्रो जागीर खाने, आरामको जिन्दगी गुजार्ने, हाँसखेल गर्दै परिवारसंग बिताउने । तर ती सबै बिकल्पहरु मुल्यविहिन लागेर म राजनीतिमा होमिएँ । त्यो पनि विद्यार्थी राजनीतिमा । बिद्यार्थी राजनीतिले सँधै मलाई सिकाइरह्यो र यसप्रति मैले गौरव गरिरहें । तर २०७३ साल असोज ४ गते मंगलबार बिहान बिछ्यौनाबाटै एउटा समाचार पढें । समाचार अनुसार राजधानीका दर्जन विद्यालयमा बम पड्काइएको थियो । त्यो पनि बिद्यार्थी राजनीतिका नाममा । गज्याङमज्याङ परेको रातो विज्ञप्ति पनि घटनास्थलमा फ्यालिएको थियो । विज्ञप्तिमा मिठा मिठा शब्दमा नेपालको शिक्षा नीति र शैक्षिक प्रणालीमाथि प्रश्न उठाइएको थियो ।
बिज्ञप्तिले बोलेको छद्म भाषाको आयु लामो रहेन । बम पड्काउनुको भित्री उद्धेश्य दशैं खर्चका लागि चन्दा उठाउनु रहेछ । पहिलोचोटी यो समाचार पढेर मलाई आफु कृयाशील विद्यार्थी राजनीतिमाथि सन्देह पैदा भयो । कता जाँदैछ हाम्रो बिद्यार्थी राजनीति ? अपराधका पहाडहरु बिद्यार्थी राजनीतिको कलेवरमा किन कोरिँदै छन् ? र यो प्रश्नले बिथोलिदिएको मथिंगल बोकेर मैले केहि शब्दहरु कोर्दैछु ।
यो देशको इतिहासमा छत्तिस सालको विद्यार्थी राजनीति आज पनि स्वर्ण अक्षरमा चम्किरहेको छ । त्यो उर्जा, त्यो शाहस र त्यो बिरता इतिहासका रक्तमुछेल पानाभरी आइरहन्छन् । बिद्यार्थीहरु सडकमा ओर्लिएर बादशाहको नाङ्गो बस्त्रमाथि प्रश्न उठाए । तीनले गोली र बारुदको परबाह गरेनन् । फलस्वरुप इतिहासको गती र विकासको बाटो नै बदलियो । लोकतन्त्रप्रतिका श्वरहरु नेपाली आकासमा गुन्जिए । छत्तिस सालको आन्दोलन परिणामका हिसाबले सफल नभएपनि बिद्यार्थी राजनीतिको महत्व र मुल्यवोध गराउने सवालमा कोशेढुंगा सावित भयो ।
त्यसपछि अनेकन आन्दोलन, धरपकड, बलिदान र बिरताका कष्ट साध्य बाटोबाट बिद्यार्थी राजनीतिले आफ्नो अप्रितम महत्व दर्ज गराएरै छाड्यो इतिहासका पानाभरी । २०४६ सालको जनआन्दोलनको अगुवाइ विद्यार्थीहरुले गरे । यो देशका क्याम्पस र विश्वविद्यालयहरुले लोकतन्त्रको शंखनाद गरेर नारायणहिटीका अगाडी आफ्ना बाघि मुट्ठी उठाए । निरंकुश पञ्चायती शासन चिहानमा पुग्यो । त्यसपछि २०५२ सालबाट शुरु भएको ऐतिहासिक जनयुद्धमा बामपन्थी विद्यार्थीहरुको शौर्यको कहानी अमुल्य छ । तीनले बोलिदिएका थिएनन् भने ज्ञानेन्द्रका खुनी हातले आजपनि हाम्रो घाँटी समाइरहेको हुन्थ्यो । आज पनि फौजी बर्दिमुनी हाम्रा मुक्तिका आवाजहरु सुन्य आकासमा बिलाउँथे । यी दृष्टान्तहरुले भन्छन्— विद्यार्थी राजनीति इतिहास बदल्ने महान अभिभाराको नाम हो । यी तथ्यहरु आफैं बोल्छन्— हातमा कलम र आवश्यक पर्दा हतियार समेत बोकेर रचिएको विद्यार्थी आन्दोलनको इतिहास नै आजसम्म नेपालको प्रगतिशील आन्दोलनको साक्षी हो ।
इतिहास हेर्दा यति सुन्दर छ विद्यार्थी राजनीति । तर फेरि कसले सुनाउँदै छ कलिला नानीहरुका कानमा बमको कर्कश आवाज ? कसले गिजोल्दै छ विद्यार्थी राजनीतिको अस्मितालाई ? ती मान्छेहरु जो विद्यालयमा बम बर्साउँदै बहादुरीको स्वांग पारिरहेछन् के त्यही हो विद्यार्थी राजनीति ? यदि बम राजनीति नै विद्यार्थी राजनीति हो भने अपराध के हो ? को हुन् त त्यसोभए आततायीहरु ?
हामीलाई थाहा छ नेपालको शिक्षा धनकुवेरहरुको कमाउने भाँडो भएको छ । माफियाहरुको मनपरी अचाक्ली छ । यो बदलिनु पर्छ । शिक्षा जस्तो संवेदनशील सवाल राज्यको पुर्ण दायित्व अन्तर्गत रहनुपर्छ । त्यसैका लागि हामी अनवरत आवाज उठाइरहेका छौं । तर सतहमा दुई चार अक्षरको विज्ञप्ति कोर्ने, चन्दाका लागि बम बारुद बोक्ने र नामचाहिँ विद्यार्थी संगठनको हाल्ने यो असैह्य अराजकता बिद्यार्थी राजनीति होइन बरु अराजकताको पराकाष्ठा हो ।
हतियारमुनी कलिला मष्तिष्कहरुलाई किच्दा परिणाम के हुन्छ भनेर तालिवानले ध्वस्त बनाएका अफगानिस्तानका बिद्यालयहरु हेर्दा हुन्छ । एजेण्डाबिनाका हतियारहरु कति डरलाग्दा हुन्छन् भनेर मलाला युसुफजाइको आत्मकथा पढ्दापनि हुन्छ । तीनले पड्काएका बमका आवाजहरुले मनोवैज्ञानिक रुपमा कति समय बमको कोपभाजनमा परेका विद्यालयमा पढ्ने बच्चाबच्चीलाई असर पार्छ ? यो आजसम्म पनि संवेदनशीलताका साथ नेपालमा नउठाइएको बिषय हो । भोली राष्ट्र हाँक्न आज विद्यालयमा हुर्किरहेका कलिला बालबालिकालाई सुनाइनुपर्ने आवाज बमको हो की चेतना को ? विद्यालयमा बम हान्नेहरुले सोचुन् ।
६२—६३ सालको जनआन्दोलन पछाडि विद्यार्थी राजनीति दिशाविहिन भएको साँचो हो । आफ्नै गन्तव्यमा दिग्रभ्रमित हुँदाको परिणाम देखिन थालेको मात्र हो पछिल्लो घटना । हिजो सडकमा गर्जनु आवश्यक थियो, रगत उमाल्ने भाषण गरेर बलिदानका लागि ठूलो जमातलाई तम्तयार बनाउनुपनि आवश्यक थियो । सबै विद्यार्थी संगठनले निरंकुशता मेटाउन ध्वंस उन्मुख राजनीति गरेकै हुन् । पुतलिसडकका रेलिङपनि भाँचिएकै हुन् विद्यार्थी राजनीतिका नाममा । त्यो शायद आवश्यकता पनि थियो । तर आज देशमा संविधान जारी भएको छ । संक्रमणकाल सैद्धान्तिक रुपमा टुंगिएको छ यद्यपी संविधान माथि केहि क्षेत्र र समुदायका गुनासा यथावत नै छन् ।
अबको विद्यार्थी राजनीति निर्माण उन्मुख हुनुको विकल्प छैन । तर हाल अधिकांश विद्यार्थी संगठनले हिजोदेखि बोकिआएको मनोविज्ञान, तीनका संरचना, र प्राथमिकता अझै बदलिएका छैनन् । र यो दिशाहिनताको परिणाम जगजाहेर नै छ । बिद्यालयहरुमा बम पड्काउन शुरु गरिएको छ । त्यो पनि अत्यन्त लाजमर्दो माग पुरा गर्न । दशैं खर्चका लागि बम पड्काइएको छ । यो भन्दा ठूलो अराजकता अरु के हुन सक्छ ? यो भन्दा ठूलो दण्डहिनता अरु के हुन सक्छ ? देशका लागि विद्यार्थी राजनीतिमा लामबद्ध म जस्ता युवाहरु के अब यस्तै अराजक समुहको त्रासले राजनीतिबाट पलायन हुनुपर्ने हो ?
यो घटनाबाट विद्यार्थी संगठनले शिक्षा ग्रहण गर्न ढिला हुनु भनेको आफ्नै लागि एम्बुस थाप्नु बराबर हो ? अब विद्यार्थी राजनीतिको बाटो बदलौं । अराजकता बोकेर आएको बम राजनीतिले हामीमाथि खडा गरेको चुनौतिको डटेर सामना गर्नुको बिकल्प छैन । होइन भने मैमत्त राजतन्त्रजस्तै विद्यार्थी राजनीति पनि चाँडै चिहानमा पुग्नेछ ।
(लेखक नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी) का विद्यार्थी नेता हुन्)