धादिङबेँसी, १२ असोज । दस वर्षअघि पाटन अस्पतालमा बेवारिसे अवस्थामा भेटिएका बालक रोशनलाई आफ्ना बाबु आमाबारे अहिलेसम्म थाहा छैन ।
मातृबात्सल्यको त्यो अवसर गुमाएका रोशन त्यसबेलादेखि नै धादिङबेँसी, साङ्कोसस्थित बाल भविष्य सङ्गठन नेपाल (सिएफओ) को संरक्षणमा छन् । उनलाई सिएफओले नै पालन पोषण र पठन पाठनको प्रबन्ध गर्दै आएको छ । हाल रोशन स्थानीय सुनगाभा एकेडेमीमा कक्षा ४ मा पढ्छन् ।
जिल्लाको मुरलीभञ्ज्याङकी नौ वर्षीया चोमकुमारी केसीको सानैमा आमा बितेपछि बुबाले सौतेनी आमा ल्याए र छोरीलाई हेरेनन । उनको समस्या थाहा पाए पछि सिएफओले जिम्मा लियो । “यहाँ आएर पढ्न र बस्न पाएको छु । घर परिवारले बेवास्ता गरे पनि म अब अघि बढ्न सक्ने भएको छु ।” केसीले जस्तै साङ्कोसकै हीराबहादुर तामाङलाई पनि परिवारबारे केही थाहा छैन । उनी सानैमा बालगृहको संरक्षणमा पुगे । हाल उनी सङ्गठनको पहलमा सुनगाभा एकेडेमीमा कक्षा ४ मा पढ्छन् ।
अनाथकोे सहारा बनेको सो बालगृहमा हाल शिशु कक्षादेखि १२ सम्म अध्ययनरत ८४ बाल बालिकाले आश्रय पाएका छन् । सिएफओ नेपालका अध्यक्ष रमेश धमला भन्छन् – “१३ वर्ष अघि स्थापित यस बालगृहले काठमाडौँको होस्टेलमा थप १७ जना राखेर उच्च शिक्षाको प्रबन्ध गरेको छ । ”
हाल २५ जिल्लाका बालबालिका संस्थाको ७० रोपनी क्षेत्रफलमा रहेको वातानुकूलित तथा भूकम्पप्रतिरोधी ‘चिल्ड्रेन भिलेज’ मा आश्रित छन् । भिलेजमा सङ्गठनकै कर्मचारीले गाईपालन, तरकारी खेती र सीपमूलक तालिम स्थल पनि बनाएका छन् । तालिम केन्द्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को कक्षा सञ्चालनका लागि थप प्रक्रिया अघि बढाइएको संस्थाले जनाएको छ । सिएफओलाई विदेशी स्वयम्सेवक र केही संस्थाको सहयोग पनि छ ।
विगत सशस्त्र द्वन्द्वको समयमा आमाबाबु गुमाएका, आमा बितेपछि बाबुले अर्कै बिहे गरेर बेवारिसे भएका, प्रसूतिगृहमा आमाबाबुबाट अलपत्र पारिएका, विपद्मा परेका बालबालिका उक्त गृहको आश्रयमा छन् ।
भविष्यमा यहाँ रहेका बालबालिका सक्षम भएर विश्वस्तरको नागरिक बनुन् र दिगो विकास लक्ष्यमा सघाउन सकुन् भन्ने आफ्नो लक्ष्य रहेको अध्यक्ष धमलाले बताए । उनले सङ्गठनलाई अन्य जिल्लामा पनि शाखा विस्तार गर्ने योजना रहेको सुनाए ।
पर्यटन व्यवसायी समेत रहनुभएका अध्यक्ष धमला भन्छन्,– “ आफ्ना छोरा–छोरीलाई बालगृहमा छोडेर अन्यत्र काममा लाग्ने अभिभावक पनि छन् । पहिला अनाथ भनेर ल्याएका कतिपय बालबालिकाका परिवार अहिले सम्पर्कमा आएका छन्, त्यसैले हाम्रो पहल के हुनेछ भने बालगृहमा बच्चा राख्नुपर्छ भन्ने होइन उनीहरुलाई परिवार र समुदायको साथमा हुर्काउनुपर्छ भन्ने चेतना जगाउनुपर्छ ।”
पछिल्ला दिनमा केही सहयोगी विदेशीले सिएएफओमा आर्थिक अनियमितता जस्ता विवाद पनि निम्त्याएर सहयोग रोक्ने चेतावनी पनि दिएका छन् । अध्यक्ष धमला भने निश्चित सर्त र स्वार्थका सहयोग रोकिए पनि बालगृह सञ्चालन गर्न आफूहरु सक्षम भएको र कुनै अनियमितता भेटिए कानुनबमोजिम कारबाही भोग्न तयार रहेको बताउँछन् ।
बालगृहभित्र केही दाताले चर्च बनाउन दबाब दिए तर आफूले सरस्वतीको मन्दिर बनाएका कारण पनि विवाद सिर्जना भएको उहाँको भनाइ छ । बालगृहको नाममा रहेका केही सार्वजनिक जग्गाको लालपुजाका लागि केही प्रक्रिया पूरा गर्न बाँकी छ ।
नेपाल पत्रकार महासङ्घ, धादिङका अध्यक्ष नवराज छतकुलीले बालबालिकालाई संरक्षण दिइनु सकारात्मक भए पनि विधि र प्रक्रियालाई पालना गरेर त्यस्ता संस्था सञ्चालित हुनुपर्ने बताए ।