मोरङ, २५ कात्तिक । नम्बर गल्ती भएर गरेको फोनकलबाट पनि कतिपय प्रेममा परेर वैवाहिक सम्बन्धमा बाँधिएका घटना समाजमा धेरै सुन्न पाइन्छ ।
कोही फोनमा बोलेर प्रेम गर्ने र मक्ख हुने तर पछि बास्तविक भेट हुँदा भने पन्छिएर प्रेम सम्बन्ध नै भुल्ने गरेका कुराहरु पनि बेलाबखत चर्चा हुन्छ । तर संयोग नै मान्नुपर्छ, अपरिचित नम्बरबाट आएको फोनकलबाट प्रेम भई एक नेत्रहीन जोडी वैवाहिक सम्बन्धमा बाँधिएका छन् ।
प्रसङ्ग हो, उर्लाबारी–१ विशालटोलका नेत्रहीन दम्पती ३१ वर्षीय होमबहादुर बयलकोटी र इलाम नयाँबजारकी २४ वर्षीया सम्झना लिम्बूबीचको ।
झट्ट सुन्दा फिल्मको कथाजस्तो लागेपनि वास्तविक जीवनको कुरा हो यो । अनजानमै सम्झना लिम्बूको मोबाइल नम्बरमा मिस्कल हानेपछि बयलकोटीले केटीको मधुर आवाज सुन्न थाले । सम्झनाको सुमधुर स्वर सुनेर मन थाम्न नसकेपछि होमले निरन्तर ‘मिस कल’ गरिरहे ।
एक दिन मोबाइलको घण्टी बज्यो । होमले हत्तपत्त फोन उठाउन खोजे । तर फोन काटियो । सोही नम्बरमा फेरि फोन दबाए । पहिलोपटकमा फोन उठेन । अर्कोपटक पुनः फोन गर्दा तीनै केटीको आवाज सुनियो । यी दुईबीच फोनमा बाक्लै कुराकानी चल्न थाल्यो । आफूले माया गर्ने र बिहे नै गर्ने कुरा होमबाट आएपछि सम्झना भावुक हुँदै आफू नेत्रहीन भएको खुलाइन ।
सम्झनाले आफू नेत्रहीन भएको बताएपछि होमले आफू पनि नेत्रहीन भएको बताए । त्यसपछि होम र सम्झनाको प्रेम प्रगाढ बन्दै गयो । निरन्तर फोन सम्पर्कमा रहेका यी दुईबीच भेट्ने कुरा चल्यो ।
त्यसपछि विर्तामोडमा भेट्ने सल्लाह भयो । उनीहरुबीच भेट भयो । दुवैजना एकअर्काबीच छुट्नै नसक्ने भए । त्यसपछि उनीहरुले प्रेम विवाह गरे । होमबहादुर बयलकोटीले भने, “दुःख गरेर भएपनि सम्झनासँग खुसी छु ।” उनीहरु दुवै गलत नम्बरकै कारण आफ्नो प्रेम सफल बनेकोमा खुशी छन् ।