२०३५ साल बैशाख १ गते डा. बाबुराम भट्टराईले आफ्नो डायरीमा लेखे— म जीवनका शाश्वत सत्य पत्ता लगाउन साथै सत्य र न्याय स्थापित गर्न प्रयत्नशील रहनेछु । २०३४ साललाई भट्टराई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण बर्ष मान्छन् । त्यही बर्ष बिचारको क्षेत्रमा आएको समग्र परिवर्तनलाई भट्टराईले माथिको वाक्यमा ‘संश्लेषण’ गरेका थिए । त्यसबेला नयाँ बर्षमा नयाँ प्रतिज्ञा गरेर जीवनको लक्ष्य तय गर्ने ‘लहड’ ले छोएको थियो बाबुरामलाई पनि ।
त्यही प्रभावस्वरुप उनले आफ्नो जीवनको लक्ष्य बनाएका हुन्– जीवनका शास्वत सत्य पत्ता लगाउने साथै सत्य र न्याय स्थापित गर्ने । तर एकदिन २४ बर्षको ‘केटौले’ उमेरमा जीवनको लक्ष्य लेखिएको भट्टराईको अर्थपूर्ण डायरी हरायो । आफ्नै ध्याउन्नमा व्यस्त भट्टराईले पनि डायरी खोज्ने चासो देखाएनन् ।
तर बर्षौँपछि एकदिन बाबुराम पत्नी हिसिला यमीले उनको डायरी फेला पारिन् । र त्यही डायरीलाई मुख्य आधार बनाएर सञ्चारकर्मी अनिल थापाले भट्टराईको जीवन माथि पुस्तक लेखे, ‘अविराम बाबुराम’ नाम दिएर । पुस्तक विमोचन कार्यक्रममा बोल्दै भट्टराईले डायरीको प्रसंग सुनाए । साथै उनले ‘२०३५ साल बैशाख १ गतेको डायरी हेरेर मात्र बाबुरामको ठिक मुल्यांकन हुन सक्ने’ समेत दावी गरे । अनिल थापाले आफ्नो पुस्तकमा डा. भट्टराईको हराएर फेला परेको डायरीको फोटोकपी समेत समावेश गरेका छन् ।
माक्र्सवाद भनेको हुँ, स्टालिनवाद होइन
पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आफुले माक्र्सवादलाई सँधै अनुशरण गरेको तर स्टालिनवादलाई कहिल्यै स्वीकार नगरेको बताए ।
‘मैले २४ बर्षको उमेरमा त्यस डायरीमा जे लेखेको थिएँ, त्यही विचारले आज पनि मलाई निर्देशित गरिरहेको छ’, उनले भने,‘त्यो डायरीमा र आफ्नो जीवन दर्शनमा मैले माक्र्सवादको पक्षपोषण गरेको हो स्टालिनवादको होइन ।’ माओवादी पार्टीभित्र ‘स्टालिनवादी’ प्रवृत्तिको विरुद्धमा आफू सँधै उभिरहेको स्मरण गर्दै भट्टराईले प्रचण्डसँगको अन्तरसंघर्षपनि पार्टीले आफुले भन्ने गरेको माक्र्सवाद स्वीकार्ने की प्रचण्डले पक्षपोषण गरेको ‘स्टालिनवाद’ स्वीकार्ने भन्ने विषयमै केन्द्रित रहेको जिकिर गरे ।
‘प्रचण्डजी र मेरो अन्तरसंघर्ष व्यक्ति केन्द्रित होइन’, उनले भने,‘उहाँ र मेरो अन्तरसंघर्ष नै माक्र्सवादलाई समात्ने कि भ्रष्टिकरण भइसकेको स्टालिनवादलाई पार्टीमा जबर्जस्ति लाद्ने भन्नेमै थियो ।’ उनले माक्र्सवादलाई समात्नुपर्ने आफ्नो अडानले गर्दा नै नेपालमा सामन्तवादी राजतन्त्रको अन्त्य भएको प्रष्ट पारे ।
यसबेला प्रचण्डको ठाउँमा रहेको भए सरकारमा जान्न थिएँ
भट्टराईले यतिबेला यदि आफु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ठाउँमा रहेको भए सरकारमा जानुको सट्टा देशलाई स्थायीत्वमा लाने एजेण्डालाई अग्रभागमा राखेर बाटो बिराएको राजनीतिलाई ‘सहि ट्रयाक’मा ल्याउन भुमिका खेल्ने दावी गरे ।
‘अहिले कांग्रेस, एमाले र माओवादी केन्द्रको अवस्था सर्प, विच्छी र भ्यागुताको जस्तै छ’, उनले भने,‘यदि म प्रचण्डको ठाउँमा रहेको भए मरिहत्ते गरेर सरकारमा जानुको सट्टा बाटो बिराएको राजनीतिलाई सहि बाटो प्रदान गर्न भुमिका खेल्ने थिएँ ।’ उनले नयाँ शक्ति सरकार गिराउने र बनाउने खेलमा नलागेकाले सरकारको सवाल आफ्नो पार्टीका लागि ‘नजाने गाउँको बाटै नसोध्नु’ जस्तै भएको टिप्पणी गरे ।
उनले यतिबेला कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्नै नेतृत्वमा चुनावी सरकार बनाउन मरिहत्ते गर्नुको अर्थ धाँधली गरेर चुनाव जित्ने मनशाय रहेको आरोप समेत लगाएका छन् ।
जिवित रहँदासम्म कतिपय विषय खुलासा गर्न मिल्दैन
पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले आफुले राष्ट्रका नामम सपथ खाएको हुनाले सक्रिय राजनीतिक जीवनका कतिपय कुरा खुलासा गर्न नमिल्ने बताएका छन् । आफ्नो पार्टी जीवनका केहि सन्दर्भहरु इच्छुकहरुका लागि खोजीको विषय भए पनि आफू जिवित रहँदासम्म कतिपय कुरा खुलाउन नमिल्ने प्रष्ट पारेका हुन् । ‘म माथि त्यसबेला गरिएको कारवाही लगायतका कतिपय तथ्यहरु इच्छुकहरुका लागि खोजीको विषय हो तर म आफैंले चाहिँ जिवित रहुन्जेल यी विषयहरुमा केहि बोल्न मिल्दैन ।’
पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार तथा एमाले नेता प्रदिप ज्ञवालीले डा. बाबुराम भट्टराई चालिस बर्षसम्म माक्र्सवादी बाटोबाटै समाज रुपान्तरण सम्भव छ भनेर हिँडेको व्यक्ति अहिले आएर त्यस बाटोबाट पछाडि हटेको विषय उनीमाथि उठिरहने प्रश्न भएको बताए । भट्टराईले लोकतान्त्रिक गणतन्त्रका लागि लड्नु सबैभन्दा ठूलो योगदान भएको भन्दै ज्ञवालीले ठूलो मुल्य चुकाएर भट्टराईले माओवादीलाई अपुरणिय क्षति हुनबाट जोगाएको तर्क गरेका थिए ।