मनोज खतिवडा
काठमाडौं, २३ भदौ । नेकपा(माओवादी केन्द्र) को भातृसंगठन अखिल(क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मुल्य मुल्य घटाउन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटेपनि नेपालमा भने नघटाइएको भन्दै क्रान्तिकारीले तत्काल इन्धन, ग्याँस, डिजेल लगायतको मुल्य घटाउन माग गरेको हो ।
‘पछिल्लो चरणमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा घटाइएको छैन’, अखिल(क्रान्तिकारी) का अध्यक्ष नरेन्द्र न्यौपानेद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा भनिएको छ,‘हाल आयल निगम सुविधाजनक नाफाको अवस्थामा रहेकाले नजिकिँदै गरेको चाडपर्वमा जनताको चुलो चौकोको समस्यालाई ध्यानमा राख्दै अबिलम्ब पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार अनुसार समायोजन गर्न माग गर्दछौं ।’
संगठनले इन्धनको मुल्य समायोजन लगायत ५ बुंदे माग सहित ज्ञापनपत्र बुझाएको हो । अखिल(क्रान्तिकारी) का उपाध्यक्ष एवं प्रवक्ता सुरेन्द्र बस्नेतले निगम नेपाल—भारत सीमा क्षेत्रमा हुने कालो बजारीलाई कारण देखाउँदै मूल्य समायोजनमा उदासिन रहेको आरोप लगाए ।
‘सिमा क्षेत्रको अबैध कालोबजारी रोक्नुको सट्टा निगम उल्टै कालो बजारीलाई कारण देखाएर मूल्य समायोजन नगर्ने बाटोमा अग्रसर छ’, बस्नेतले भने ।
क्रान्तिकारीले अन्तर्राष्ट्रिय बजारमा मुल्य घटेअनुसार पेट्रोलियम पदार्थको मुल्य समायोजन हुनुपर्ने, चाडपर्वलाई ख्यालमा राखेर पेट्रोलियम पदार्थको पर्याप्त मात्रामा भण्डारणको ब्यवस्था गरिनुपर्ने, सिमा क्षेत्रको अवैध कालोबजारीलाई रोक्नुपर्ने लगायतका माग ज्ञापनपत्रमा समावेश गरेको छ ।