मेलम्ची, १२ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले विद्यालय पुनःनिर्माण कार्यलाई राज्यले तीव्रता दिनुपर्ने बताएका छन ।
आज सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ बाहुनेपाटीमा विद्यालय भवनको शिलान्यास गर्दै भूकम्प गएको १५ महिना बितिसक्दा पनि विद्यालय पुनःनिर्माण हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उपराष्ट्रपति पुनले बताएका छन् ।
उनले देश विकासका लागि पहिलो आधार शिक्षा नै भएकाले सर्वप्रथम विद्यालय निर्माण कार्यमा जुट्नुपर्नेमा जोड दिएका छन् ।
जालपादेवी उच्च मावि पुनःनिर्माणका लागि शिलान्यास गर्न आज त्यहाँ पुग्नुभएका उपराष्ट्रपति पुनले राष्ट्रिय गौरवका आयोजना मेलम्ची खानेपानीे सुरुङको समेत अवलोकन गरेका थिए ।
केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आयोजनाको निरीक्षण गर्दै २०७४ को वैशाखभित्र काठमाडौँमा पानी पु¥याउने गरी काम गर्न निर्देशन दिएका थिए ।
विद्यालय पुनःनिर्माण कार्य अन्तर्राष्ट्रिय सहयोगी संस्था एजुकेसन फस्र्ट (इएफ) र नेपाली सहयोगी संस्था सफा सुनौलो नेपालको सहयोगमा निर्माण हुन लागेको विद्यालयका प्राचार्य विष्णु गौतमले जानकारी दिए ।