नुवाकोट, १७ असोज । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि प्रतिपक्ष र सत्ता पक्ष एक जुट हुनाको विकल्प नभएको बताएका छन्।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री केसीले आज रातमाटेको महादेव बहुमुखी क्याम्पसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मधेसकेन्द्रित दलले राखेका सबै माग जायज नभएकाले सबै माग पूरा नहुने बताए । मन्त्री केसीले भने – “तिनको सही माग राज्यले सम्बोधन गर्नुपर्छ, तर नाजायज माग पूरा हुनै सक्दैन ।”
उहाँले अबको १८ महिनाभित्र तीन निर्वाचन गर्नुपर्ने बाध्यता राजनीतिक दलबीच रहेकाले सबै दल मिलेर सही बाटोको खोजी गर्नुपर्नेमा जोड दिँदै स्थानीय निकाय पुनःसंरचनाका विषयमा सरकारले नौ सय २७ इलाकालाई आधार बनाएको जानकारी दिए ।
कार्यक्रममा सांसद तथा काङ्ग्रेस नुवाकोटका सभापति जगदिीश्वरनरसिंह केसीले स्थानीय निकायको पुनःसंरचनाको सिफारिस गर्दा १३ मात्रै गरिएकामा काङ्ग्रेसले १५ देखि १८ वटा स्थानीय निकाय हुनुपर्ने माग राखेको बताए ।